भद्रपुर: बझाङको लाइफलाइन सडकका रूपमा रहेको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको तीन दिन भएको छ। भारी वर्षाका कारण जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ सुङगाला तथा बालुवाटार र सोही नजिक रहेको जालेबगरमा पहिरो खस्दा बैतडीको खोड्पेदेखि बझाङ जोड्ने उक्त राजमार्ज पूर्ण रूपमा ठप्प छ। राजमार्ग ठप्प भएपछि अन्य जिल्लाबाट बझाङ जाने र बझाङबाट अन्यत्र आउने यात्रुहरु अलपत्र छन्।
बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार ठूलो पहिरो खसेकोले तत्काल सोही पहिरो हटाएर सडक सुरु गर्न सकिने अवस्था छैन। ‘पहिरो गएको स्थानमा विकल्प खोज्नुपर्ने देखिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्, ‘अहिले पनि जिल्ला सुरक्षा समितिको टोलीसहित विकल्पकै लागि पहिरो गएकै स्थानमा पुगेका छौं। नजिकै केही व्यक्तिगत खेतहरु छन्। त्यहाँबाट सवारी साधन सञ्चालन गर्नका लागि प्रयास गरिरहेका छौं।’
सहायक प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार राजमार्ग मात्रै नभएर बझाङको विद्युत् र सञ्चार सेवा पनि तीन दिनदेखि अवरुद्ध छ। ‘बझाङमा सडक, विद्युत् र नेपाल टेलिकमको फाइबर सेवा अवरुद्ध भएको तीन दिन भएको छ,’ सहायक सिडिओ जोशीले थपिन्, ‘ठाउाठाउँमा पोल ढलेका छन् भने विद्युत्को तार नदीमा खसेका छन्। धेरै क्षति भएकाले मर्मत गर्न समय लागेको हो।’ नेपाल टेलिकमको अप्टिकल फाइबर ठाउँठाउँमा काटिएकोले सञ्चार सेवा पनि प्रभावित भएको हो।
बझाङका शिक्षक नरेन्द्र उपाध्यायका अनुसार सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएपछि जिल्लाको अवस्था अस्तव्यस्त जस्तै भएको छ। ‘राजमार्ग अवरुद्ध हुँदा आवागमन पूर्ण रूपमा ठप्प भएको छ,’ उनले भने, ‘सञ्चार र विद्युत् सेवा पनि नभएपछि जनजीवन थप प्रभावित भएको छ।’
शुक्रबार राति साढे ८ बजे जिल्लाको खप्तडछान्ना गाउँपालिका-७ गडाराय केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भुकम्प पनि गएको थियो। उक्त भुकम्पले जयपृथ्वी राजमार्गमा थप क्षति गरेको पनि बझाङ प्रहरीले जनाएको छ।