सोनादा: सोनादा डिग्री कलेजको ३९औं स्थापना दिवस एवम् यस वर्ष प्रथम सत्रमा कलेजमा भर्ना भएका विद्यार्थीहरूका स्वागत समारोह पनि संयुक्त रुपमा कलेजको प्रेक्षागृहमा कलेजको भारप्राप्त प्राचार्य डा. रागिनी थापाको अध्यक्षतामा सम्पन्न भयो। यस अवसरमा डा. रागिनी थापाले कलेजका संस्थापकहरू लगायत कलेजको उत्तरोतर प्रगतिमा योगदान दिनुहुने सबैप्रति आभार प्रकट गरिन्।सोनादा डिग्री कलेज सोनादाको एक उच्च शैक्षिक संस्थान भएकोले स्थानीय विभिन्न बस्ती र चियाबारी क्षेत्रका आर्थिक कमजोर भएका विद्यार्थीहरूले पनि आफ्नै गाउँ-ठाउँमा भएको यस कलेजबाट सुपथ मूल्यमा स्नातक तहको शिक्षा आर्जन गर्न सक्ने कुरो उनले बताइन्। यस कलेजमा यसै शैक्षिक सत्रदेखि अन्य केही संस्थानहरूको प्रायोजनामा विभिन्न प्रकारका कोर्सहरू पनि शुरु गरिएको अनि यसमा बेरोजगार युवाहरूले भाग लिन सक्ने अनि यस्ता विभिन्न कोर्सको अवधि तीन महिनादेखि छ महिना रहेकोले यसबाट विद्यार्थीहरूले प्रशस्त लाभ उठाउने आह्वान् गरिन्। दुइ चरणमा विभाजन गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा कलेजको ३९औं स्थापना दिवस समारोहलाई प्रा. पर्वत रसाईलीले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन प्रा अनिलकुमार विश्वकर्मले गरेका थिए। स्थापना दिवसको उपलक्ष्यमा वर्ष २०२३ को अनर्स परीक्षामा कलेज टपर हुने अङ्ग्रेजी सम्मानकी कोमल दाहाल र प्रोग्राम कोर्समा कलेज टपर हुने गीताञ्जली राईलाई कलेजको तर्फबाट प्रशस्ति पत्र र नगद पुरस्कार पनि दिइएको थियो। समारोहमा विद्यार्थीहरूले गीत, नृत्य आदि प्रस्तुत गरेका थिए। दोस्रो चरणमा पहिलो सत्रमा नयाँ भर्ना भएका विद्यार्थीहरूहरूको लागि स्वागत समारोह सम्पन्न भयो। विशेष गरी कलेजको साँस्कृतिक कमिटिको निर्देशनमा तेस्रो र पाँचौँ सत्रका विद्यार्थीहरूको सक्रियतामा सम्पन्न भएको स्वागत समारोहमा प्रथम वर्षका विद्यार्थीहरूमा रहेको विविध प्रतिभाहरूको प्रा. सुशिला बराईली, प्रा. मेघनाथ छेत्री र प्रा.प्रवीणा लोहारले निर्णायकको रूपमा मूल्याङ्कन गरेपछि विवेक थापा र श्रेया गुरुङ क्रमैले सन् २०२४ को मिस्टर डिग्री र मिस डिग्री बन्न सक्षम भए। उनीहरूलाई गत वर्षका मिष्टर डिग्री र मिस डिग्री छोग्याल तामाङ र सायना राणाको बाहुलीबाट मिस्टर डिग्री र मिस डिग्रीको शिरताजसंगै पुरस्कार प्रदान गरेका थिए। स्वागत समारोहलाई छात्राद्वय महिमा राई र सायना राणाले सञ्चालन गरेका थिए। स्वागत समारोहमा विद्यार्थीहरूले विभिन्न प्रकारका रङ्गारङ्ग कार्यक्रमहरू सम्पन्न गरेका थिए।










