नयाँ दिल्ली: भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाको डायमण्ड लीग २०२४-को खिताब जित्ने सपना अधुरै रह्यो। शनिवार राति ब्रुसेल्समा खेलिएको स्पर्धाको फाइनलमा उनी मामूली अन्तरले गर्दा स्वर्ण पदक जित्नदेखि चुके। नीरज ८७.८६ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थानमा रहे। यसरी ग्रानाडाका एण्डरसन पीटर्सले ८७.८७ मीटरको थ्रो गरी पहिलो स्थानमा रहेर खिताब जिते। यसरी नीरज केवल ०.०१ सेण्टिमीटरले गर्दा दोस्रो स्थानमा रहे। स्पर्धामा ८५.९७ मीटरको थ्रो गरी जर्मनीका जूलियन वीबर तेस्रो स्थानमा रहे। पेरिस ओलम्पिकमा रजत पदक विजेता नीरज यस लीगको फाइनलमा दोस्रो स्थानको लगातार जारी क्रमलाई तोड़्न ओर्लिएका थिए तर उनले लक्ष्यलाई हासिल गर्न सकेनन् अनि खिताब जित्नदेखि चुके। स्पर्धाको फाइनलमा नीरजको पहिलो थ्रो ८६.८२ मीटरको रह्यो। त्यसपछि दोस्रो थ्रो ८३.४९ मीटरको रह्यो। तेस्रो थ्रो-मा चाहिँ नीरजले पुनरागमन गर्दै ८७.८६ मीटरको थ्रो लगाए। त्यसपछि नीरजले आफ्नो अन्तिम तीनवटा प्रयासमा ८२.०४ मीटर, ८३.३० मीटर र ८६.४६ मीटरको थ्रो गरे। यसरी एण्डरसन पीटर्सले आफ्नो पहिलो थ्रो-मै ८७.८७ मीटरको दूरी हासिल गरी अन्तसम्म बढ़तलाई कायम राखे।
डायमण्ड लीग सीजनको फाइनल जित्ने खेलाड़ीलाई डायमण्ड ट्रफीको साथमा ३० हजार अमेरिकी डलर (लगभग २५ लाख रुपियाँ)-को पुरस्कार प्राप्त हुन्छ। यसको साथमा वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपको निम्ति वाइल्ड कार्ड पनि दिइन्छ। यसरी उपविजेतालाई १३ हजार अमेरिकी डलर (लगभग १० लाख रुपियाँ) प्राप्त हुन्छ। टोक्यो ओलम्पिकमा स्वर्णपछि पेरिसमा रजत पदक जित्ने नीरज डायमण्ड लीग सीजनको समापन जीतको साथ गर्ने लक्ष्य लिएर ओर्लिएका थिए। उनी १४ पोइण्ट्सको साथ चौथो स्थानमा रहेर फाइनलमा पुगेका थिए तर अन्तमा उनले दोस्रो स्थानमै सन्तोष मान्नु पऱ्यो। यसअघि उनी दोहा र लुसानेमा पनि दोस्रो स्थानमा रहेका थिए। त्यसपछि उनी पेरिसमा पनि दोस्रो स्थानमा रहेका थिए। उल्लेखनीय छ, नीरजले पहिला पनि डायमण्ड लीगमा भारतको झण्डा फहऱ्याएका थिए। उनले २०२२-मा ८८.४४ मीटरको थ्रो गरी फाइनल जितेका थिए। यसरी उनी डायमण्ड लीग फाइनल जित्ने पहिलो भारतीय बनेका थिए।