लाहौर: पाकिस्तान क्रिकेट टीम गत केही समयदेखि खराब फर्मसँग जुझिरहेको छ। गत वर्ष वनडे वर्ल्ड कपको ग्रुप चरणमा बाहिर भएपछि यस साल टीम टी२० वर्ल्ड कपमा पनि ग्रुप चरणबाट अघि बढ़्न असफल रह्यो। यसबाहेक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-को प्रशासन र टीममा पनि गत एक सालमा व्यापक फेरबदल भएको छ। बाबर आजमले गत वर्ष वनडे वर्ल्ड कपमा टीमको खराब प्रदर्शनपछि तीनैवटा प्रारूपमा कप्तानी छोड़ेका थिए। त्यसपछि शाहीन शाह अफरीदीलाई टी२० अनि शान मसूदलाई टेस्ट कप्तान नियुक्त गरिएको थियो। टी२० कप्तानको रूपमा शाहीनको कार्यकाल पनि संक्षिप्त रह्यो अनि यस साल टी२० वर्ल्ड कपको ठीक अघि उनलाई पदबाट हटाएर बाबरलाई फेरि कप्तान नियुक्त गरियो। त्यसलाई लिएर पाकिस्तान क्रिकेटमा व्यापक आलोचना भएको थियो। यसपाली १९९२ वर्ल्ड कप विजेता पाकिस्तान टीमका सदस्य रहने मोइन खानले शाहीनलाई कप्तानीबाट हटाउने पीसीबी-को फसेलालाई गलत बताएका छन्। मोइनले भने, शाहीनमा नेतृत्व क्षमता रहेको छ अनि टीमका अन्य खेलाड़ीहरूले पनि उनलाई मन पराउँछन्। उनलाई पदबाट हटाउने फसेला अन्यायपूर्ण थियो। उनलाई सामान्य समय दिनु पर्ने थियो। सेतो बलको प्रारूपमा कप्तानीको निम्ति उनी फिट रहने थिए। उनी सर्वश्रेष्ठ टी२० खेलाड़ीहरूमा एक हुन्। यसबाहेक कप्तानीबाट हटाइएपछि उनको प्रदर्शन पनि शीर्ष स्तरको नरहेको हामीले देखेका छौं। उनको आत्मविश्वासलाई आघात पुगेको छ, जसले उनको प्रदर्शनमा खराब असर गरिरहेको छ। यसको निम्ति पीसीबी जिम्मेवार छ।










