गान्तोक: अखिल किराँत राई संघको पहलमा आज लुम्सेस्थित राई खिममा एक अभिनन्दन कार्यक्रम आयोजना गरियो। यस अवसरमा राई समुदायका विभिन्न क्षेत्रमा पीएचडी गर्ने र राई भाषामा योगदान पुऱ्याउने कूल पाँच जनालाई अभिनन्दन जनाइयो। अभिनन्दित हुनेहरूमा शिक्षा विभागका संयुक्त निर्देशक सन्तोष हाङखिम राई, डा. मकुता राई,डा.धनराज राई,डा. निर्जला राई र डा.चन्द्रकला राई रहेका थिए। आजको एस अभिनन्दन कार्यक्रममा मुख्य अतिथिको रूपमा मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङ रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राईले विगतको दिनमा आफूहरूले संस्था साथै समुदायको हितमा पुऱ्याएको योगदान साथै कामको फल अहिले प्राप्त भइरहेको र नयाँ पीढिँले केही सिक्न पाइरहेको जानकारी गराए। राई समुदायबाट विभिन्न विषयमा डाक्टरेट गरेर सम्पूर्ण राई समुदायलाई नै गौरवान्तित तुल्याएको बताए। आज राई समुदायका पाँचजना व्यक्तित्वहरूलाई एक सामान्य कार्यक्रम आयोजना गरेर सम्मान जनाएकोमा मन नदुखाउने पनि आग्रह गरे। विशेष गरेर राई समुदायले आफ्नै भवन पाउन सकेको र यस प्रकारको कार्यक्रम आफ्नो भवनमा गर्न पाउँदा अति नै हर्षित बनेको अनुभव व्यक्त गरे। यस भवनको विकासको निम्ति सबैले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको उनले मन्तव्य प्रकट गरे। उनले थप जानकारी गराए अनुसार सीबीएससीले राई समुदायको भाषालाई बाह्रौँ कक्षासम्म पढनको निम्ति मान्यता दिइसकेको छ। तर यसलाई अब सिक्किम राज्यभित्र मात्र सीमित नराखेर राज्य बाहिर पनि पुऱ्याउन सबैले प्रयत्न गर्नुपर्ने सुझाउ दिए। विशेष गरेर आज सम्मानित व्यक्तिहरूले यस विषयमा एक टोली बनाएर काम गर्नुपर्ने खालिङले आग्रह गरेका छन्। यस संस्थालाई बौद्धिकरूपमा अघि बढाउन सकेको खण्डमा नयाँ पीढिले धेरै विषयमा जानकारी पाउन सक्ने पनि उनले मन्तव्य प्रकट गरे। उनले अहिलेसम्म संस्थाले सबै भन्दा बेसी इमान्दार भएर आय व्ययको काम गरेको र सबैलाई पारदर्शी ढङ्गमा यसबारेमा जानकारी गराउन संस्था सफल बनेको उनले किटान गरे। अन्तत उनले राई समुदाय़ले यसरी यति ठूलो भवन पाउनुमा मुख्यमन्त्री प्रेमसिंह तामाङ साथै उनकी धर्मपत्नी कृष्णा राईको ठूलो हात रहेको जानकारी गराउँदै संस्थाको तर्फबाट धन्यवाद पनि दिए।
सोही प्रकारले संघका मूल सचिव आरके वालिङले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अहिलेसम्म एसकेएम सरकारले राई समुदायको निम्ति कुन कुन स्थानमा कति कति धनराशिमा राई खिमको निर्माण गरेको भन्नेबारे जानकारी गराए। वालिङले आज सम्मानित पाँचजना व्यक्तित्वहरूबाट संस्थाको हितमा धेरै काम गर्न सक्ने आशा राखेको बताए। वर्तमान सरकारले राई समुदायको निम्ति विद्यालयमा भाषिक शिक्षकहरू नियुक्त गर्नको साथै उनीहरूको पदोन्नति गरेको पनि अवगत गराए। तर विद्यालयमा राई भाषिक पढने विद्यार्थीहरूको संख्या कम भएकोले अहिलेसम्म बोर्डले सब्जेक्ट कोड नदिएको पनि अवगत गराए। यदि हामीले आफ्नो नानीहरूलाई राई भाषामा पढनको निम्ति प्रेरित गरेको खण्डमा केही दिनमा नै सब्जेक्ट कोड पाउने पनि उनले दावी गरे।









