गान्तोक: एसकेएम पार्टीमा हजारौं पीएस गोले जन्मिसकेका छन् भने अरूण उप्रेती त झन् लाखौं जन्मिसकेका छन्।’ यस्तो मन्तव्य विधायक अरूण उप्रेतीले व्यक्त गरेका हुन्। तिनी आज विधानसभा अध्यक्ष पदका लागि नामाङ्कन बुझाएपछि पत्रकारहरूसॅंग कुराकानी गर्दै थिए।
विधानसभा अध्यक्ष निर्वाचित भएपछि कतै पार्टीको गतिविधि त प्रभावित बन्दैन भनी सोधिएको प्रश्नको जवाफमा विधायक उप्रेतीले भने, ‘एसकेएम पार्टीमा पोस्ट बिना पनि काम गर्न सक्ने कार्यकर्ताहरू छन्। एसकेएममा लाखौं अरूण उप्रेती जन्मिसकेका छन्। यस कारण पार्टीको गतिविधिमा कुनै प्रकारको प्रभाव पर्ने छैन।’
उनले विधानसभा अध्यक्ष निर्वाचित भएपछि निष्पक्ष रूपमा आफ्नो भूमिका निर्वाह गर्नेछु भनी बताए। उनले विधानसभाभित्र आफुबाट कसैसॅंग पक्षपात अथवा भेद्भाव हुने छैन भनी विश्वास दिलाए। एक प्रश्नको जवाफमा उनले भने, ‘नयॉं जिम्मेवारी मेरा लागि कुनै चुनौती होइन, म काम गर्ने मान्छु हूँ, जुन पनि ठाउॅं र जिम्मेवार निर्वाह गर्न तयार छु।’
यस अघि विधायक उप्रेतीले आफुलाई ड्रप गरायो भन्ने अडकलबाजी नगर्दा हुन्छ भनी सुझाउ दिए। उनले यो पूर्ण रूपमा पार्टीको आन्तरिक मामिला रहेको र आफुले स्वेच्छापूर्वक शहरी विकास विभाग मन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारे। उनले भने, ‘मैले कसैको करकापमा आएर राजीनामा दिएको होइन।’ उनले पार्टी कसरी राम्रो हुन्छ र कसरी जनतालाई पनि राम्रो हुन्छ भन्ने विषयलाई ध्यानमा राखेर लिइएको निर्णय हो भनी बताए।