कार्डिफ: ईंग्ल्याण्डले चरम रोमाञ्चक दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई ३ विकेटले पराजित गऱ्यो। यस जीतको साथै ईंग्ल्याण्डले ३ वटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। ईंग्ल्याण्डलाई सीरिजमा जीवनदान दिलाउनमा अलराउण्डर लियम लिविंगस्टोनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले २ विकेट लिएपछि ८७ रन बनाएर आयोजक टीमलाई जीत दिलाए। सोफिया गार्डन्समा टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनायो। त्यसपछि ईंग्ल्याण्डले पनि १९ ओभरमा ७ विकेटमा १९४ रन बनाएर म्याच जित्यो। म्याचमा पहिला ब्याटिंग गर्दै अष्ट्रेलियालाई ट्रेविस हेडले म्याथ्यू शर्टसँग मिलेर फेरि तेज शुरुवात दिलाए। यी दुईले पहिलो विकेटको निम्ति २६ बलमा ५२ रनको पार्टनरशीप गरे। कप्तान हेडले १४ बल खेलेर ४ वटा चौका र २ वटा छक्काको साथ ३१ रन बनाए। यसरी शर्टले २८ रनको योगदान दिए। हेड आउट भएपछि युवा जेक फ्रेसर म्याकगर्कले जिम्मेवारी लिएर आक्रामक शट्हरू खेल्न जारी राखे। उनले शर्ट र पछिबाट जोश ईंग्लिशसँग मिलेर रन गतिलाई कायम राखे। फ्रेसर म्याकगर्कले आफ्नो टी२० इण्टरनेशनल करियरको पहिलो अर्द्धशतक बनाए। उनले ३१ बल खेलेर ४ वटा चौका र २ वटा छक्काको साथ ५० रन बनाए। यसरी ईंग्लिशले ५ वटा चौका र एउटा छक्काको साथ २६ बल खेलेर ४२ रन बनाए। अन्तिम ओभरहरूमा अष्ट्रेलियाले मार्कस स्टोइनिस, टिम डेविड र ईंग्लिशलाई लगातार अन्तरालमा गुमायो। त्यसपछि आरोन हार्डी (अविजित २०)-ले क्यामरन ग्रीन (अविजित १३)-सँग मिलेर द्रुत रन बनाउँदै अष्ट्रेलियालाई १९३ रनसम्म पुऱ्याए। ईंग्ल्याण्डका बलरहरूमा ब्राइडन कार्से र लिविंगस्टोनले २-२ विकेट लिए।
जवाफमा ईंग्ल्याण्डलाई पनि कप्तान फिल सल्टले आक्रामक शुरुवात दिलाए तर विल ज्याक्स (१२ रन) र जोर्डन कक्स (शून्य)-लाई सिन एबटले एकै ओभरमा आउट गर्दा आयोजक टीम दबाउमा पऱ्यो। यसरी ३४ रनमा २ विकेटको पतनपछि लिविंगस्टोनले जिम्मेवारी लिएर टीमको निम्ति लड़ाइँ जारी राखे। उनले सल्टसँग ४५ रन अनि जेकब बेथेलसँग चौथो विकेटको निम्ति ९० रनको म्याच जिताउने पार्टनरशीप गरे। शर्टले २३ बल खेलेर २ वटा चौका र ३ वटा छक्काको साथ ३९ रन बनाए। यसरी लिविंगस्टोनलाई असल साथ दिने बेथेलले ४ वटा चौका र ३ वटा छक्काको साथ २४ बल खेलेर ४४ रन बनाए। टीमलाई जीतको निम्ति केवल एक रनको आवश्यकता हुँदा लिविंगस्टोन ८७ रन बनाएर आउट भए। उनले ४७ बल खेलेर ६ वटा चौका र ५ वटा छक्का लगाए। आदिल रशिदले एक रन बनाएर ईंग्ल्याण्डलाई जीत दिलाए। अष्ट्रेलियाई बलरहरूमा म्याथ्यू शर्टले सर्वाधिक ५ विकेट लिए। लिविंगस्टोनलाई प्लेयर अव् द म्याच चयन गरियो।










