विधानसभा अध्यक्ष पदका लागि पूर्व शहरी विकास विभाग मन्त्री अरूण उप्रेतीले नामाङ्कन बुझाए

IMG_20220821_211843.jpg

गान्तोक: विधानसभा अध्यक्ष पदका लागि विधायक तथा पूर्व शहरी विकास विभाग मन्त्री अरूण उप्रेतीले नामाङ्कन बुझाएका छन्। आज सिक्किम विधानसभा पुगेर आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीगण, एसकेएम र भाजपाका विधायकगण उपस्थित थिए। विधायक उप्रेतीले सिक्किम विधानसभा सचिवालयमा सचिव गोपाल प्रसाद दाहाललाई आफ्नो नामाङ्कन पत्र बुझाए। यस अवधि विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा पनि उपस्थित थिए। मन्त्री सोनाम लामाले नामाङ्कनको प्रस्ताव राखे भने विधायक आदित्य गोलेले यसको समर्थन गरे। विधानसभा अध्यक्ष पदका लागि भोलि २२ अगस्तको दिन विधानसभामा चुनाउ हुनेछ।
उल्लेखनीय छ, एलबी दासले सिक्किम विधानसभाका अध्यक्षको पदबाट राजीनामा दिएपछि अध्यक्षको पद रिक्त थियो। पश्चिम पाण्डमका विधायक दासले १६ अगस्त, २०२२ को दिन आफ्नो राजीनामा पत्र सुम्पेको थियो। यसै क्रममा आरिथाङका विधायक अरूण उप्रेतीले पनि १९ अगस्तको दिन शहरी विकास विभागको पदबाट राजीनामा दिएका थिए। एसकेएम मन्त्री परिषदमा फेरबदललाई लिएर केही समयदेखि चर्चा चलिरहेको थियो। विधायकद्वय एलबी दास र अरूण उप्रेतीले आआफ्नो पदबाट राजीनामा दिएपछि मन्त्रीपरिषद्मा फेरबदलको चर्चा सत्य साबित भएको छ। यसै गरी, विधायक उप्रेती विधानसभा अध्यक्ष बन्नेछन् भन्ने चर्चा पनि सत्य साबित भएको छ। अर्कोतिर, विधायक दासले विधानसभा अध्यक्ष पदबाट राजीनामा दिएपछि उनी शहरी विकास विभाग मन्त्री बन्नेछन् भन्ने पनि चर्चा छ। उनी शहरी विकास विभाग मन्त्री बन्ने छन् अथवा अन्य कुनै विभागका मन्त्री बनाइनेछ भन्ने अहिले स्पष्ट भएको छैन। विधायक दासले मन्त्रीपरिषद्मा ठाउॅं पाउलान् के? भन्ने प्रश्न पनि अहिले चर्चाको विषय बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement