गान्तोक: राज्य वाणिज्य एवं उद्योग विभाग मन्त्री छिरिङ थेन्डुप भोटिया मुम्बईमा आयोजित बोर्ड अफ् ट्रेड मीटिङमा सहभागी बने। केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलको अध्यक्षतामा आयोजित सभामा राज्य वाणिज्य एवं उद्योग विभागका सचिव कर्मा आर. बोन्पो पनि सहभागी बनेका थिए।
कार्यक्रममा केन्द्रिय मन्त्री गोयलको बाहुलीद्वारा मन्त्रालयको जनसुनवाई पोर्टल लोकार्पण गरियो, जसको माध्यमद्वारा सबै निर्यातकहरूका जिज्ञासा र गुनासोहरूलाई सम्बोधित गरिने बताइएको छ। कार्यक्रमलाई सम्बोधित गर्दै केन्द्रिय मन्त्री गोयलले वर्ष २०३० सम्म भारतले दुई खरब डलरको निर्यात लक्ष्य तय गरेको जानकारी गराए। उनले सबैलाई राज्य र उद्योग एकाईहरूलाई उक्त लक्ष्य प्राप्त गर्ने दिशामा काम गर्न आह्वान गरे।
मन्त्री भोटियाले आफ्नो सम्बोधनमा सिक्किमको जैविक उत्पादहरूको निर्यात सम्भावनामाथि प्रकाश पारे। उनले राज्यको विशाल रचनात्मक क्षमताको उल्लेख गर्दै एनिमेसन, मङ्गा र फिल्मजस्ता नयाँ क्षेत्रहरूले सेवाको ठूलो निर्यात गर्न सक्ने बताए। उनले निर्यात राजस्व वृद्धिलाई ध्यानमा राख्दै सिक्किमको अन्तरराष्ट्रिय पर्यटकहरूको प्रवेश बढाउने योजना रहेको अवगत गराए।
यस अतिरिक्त, मन्त्री भोटियाले स्काई वक, रोप वे र सम्मेलन सुविधाहरू जस्ता विश्वस्तरीय पर्यटक पूर्वाधारहरूको विकास गरेर विदेशी पर्यटकहरूलाई राज्यमा आकर्षित गर्ने कार्य गरिरहेको छ भने। उनले केन्द्रिय मन्त्रीलाई नथुला र चिवाभञ्ज्याङको बाटो भएर अन्तरराष्ट्रिय व्यापार शुरू गर्न अपील गरे।









