गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले ११ सेप्टेम्बर, २०२१ मा घोषणा गरेपछि काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा स्थापित महाकवि सुब्रह्मण्य भारती पीठले महाकवि भारती (११ दिसम्बर, १८८२- ११, सेप्टेम्बर १९२१) को १०३औँ पुण्यतिथि गत 11 सेप्टेम्बरमा समारोहसहित पालन गऱ्यो।
बिहान भारती पीठका संयोजक प्रो. ए. गङ्गाधरण, भाभावि-अध्यक्ष प्रो. दिवाकर प्रधान, तमिल सहायक प्राध्यापक डा. जगदीशन टी., भारती-प्रपौत्री डा. जयन्ती मुरली र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका नेपाली शिक्षक डा. अमित थापासहित भाभावि-का शोधार्थी र विद्यार्थीहरू हनुमानघाटस्थित महाकवि भारतीको मूर्ति स्थल र सङ्ग्रहालयमा श्रद्धार्पण कार्यक्रम भयो।
अपराह्न ३ बजीदेखि काहिविवि.-को कला संकायअन्तर्गत डा. एनी बेसन्ट सभागारमा अभिभाषण कार्यक्रम राखियो। भारती पीठका संयोजक प्रो. ए. गङ्गाधरणको अध्यक्षतामा भएको यस समारोहको थालनीमा काहिविवि. संस्थापक महामना पं. मदनमोहन मालवीयको प्रतिमा र महाकवि भारतीको चित्रमा माल्यार्पण, नेपाली एम.ए. विद्यार्थीहरूबाट काहिविवि. कुलगीत, शोधार्थी अभिषेक कोइरालाबाट वैदिक मङ्गलाचरण आवृत्ति र तमिलनाडु राज्यगीत प्रस्तुत भएपछि विभागाध्यक्ष प्रो. दिवाकर प्रधानले स्वागत भाषण राखे।
काहिविवि.-को हिन्दी विभागका अवकाशप्राप्त आचार्य, लेखक, सम्पादक, अनुवादक तथा प्रसिद्ध वक्ता र प्रमुख अतिथि प्रो. अवधेश प्रधानद्वारा ‘भारतीय नवजागरण और सुब्रह्मण्य भारती’-विषयक वार्ता अभिभाषण कार्यक्रमको केन्द्रिय आकर्षण थियो। अभिभाषणअन्तर्गत आचार्य अवधेशले महावकिको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै काशी, पोण्डिचरी र कलकत्ताकालमा प्रसाद-पन्त-निराला, डा. एनी बेसन्ट, भगिनी निवेदिता, अरविन्द घोषसित सम्पर्कित र प्रभावित भएको तथ्य प्रस्तुत गरे।
नवजागरणकालीन भारतीय समाजका कुरीति र विदेशी शासनको विरोधमा महाकविले प्रदान गरेको अवदानबारे चर्चा गर्दै नारी र शूद्र शिक्षा र सशक्तीकरणमाथि भारतीको गुणकृतिबारे सविस्तार चर्चा गरे। व्याख्यान क्रममा राष्ट्रिय एकीकरणविषयक भारतीका रचनालाई विशेष रूपले स्पर्श गरे। सिन्धु नदीमा बसेर केरलकामिनीसित तेलुगू गीत गाएको परिकल्पना वर्णित भारतीको रचनालाई राष्ट्रिय एकताको सबल उदाहरण लक्षित गरे। तमिल र तमिलनाडुमा मात्र सीमित नरही एकीकृत भारतलाई भारतीले समेटेका कुरा सोदारहण सिद्ध गरे।
राजस्थान विश्वविद्यालयबाट भारती साहित्यको साङ्गीतिक अध्ययन विषयमा शोध गरी विद्यावारिधि उपाधिले विभूषित भारतीकी संगीत प्राध्यापिका नातिनी डा. जयन्ती मुरली र काहिविवि-को भूगोल विषयकी आचार्या प्रो. गौणमणिले भारतीका चयनित रचना गाएर सुनाए।
सभाध्यक्षको आसनबाट प्रो. गङ्गाधरणले भारती साहित्यलाई राष्ट्रिय र अन्तरराष्ट्रिय परिप्रेक्ष्यमा प्रस्तुत गर्न भारती पीठ तत्पर रहेको जानकारी गराए। कार्यक्रममा भूगोलकी प्रो. गौणमणि, मराठीका डा. सन्दीप, अङ्ग्रेजीका प्रो. दीप्तिरञ्जन पटनायक र डा. उमेश कुमार, भाषाविज्ञानका डा. योगेश उमाले, जर्मनका डा. प्रकाश र डा. सत्यप्रकाशका साथै धेरै शिक्षक, शोधार्थी र विद्यार्थीहरूको उपस्थिति थियो।
कार्यक्रम सञ्चालक डा. जगदीशनले धन्यवाद ज्ञापन गरेपछि सभाध्यक्षको अनुमतिमा भारतीय राष्ट्रगान गाएर समारोह विसर्जित गरिएको बताइएको छ।










