आकाशवाणी खरसाङमा हिन्दी दिवसको अवसरमा हिन्दी पखवाड़ा आरम्भ

IMG-20240913-WA0307

खरसाङ: आकाशवाणी खरसाङमा हिन्दी दिवसको अवसरमा हिन्दी पखवाड़ा आरम्भ भएको छ। यो कार्यक्रम १५ दिनसम्म चल्नेछ। आकाशवाणी खरसाङ केन्द्रमा सम्पन्न हुने हिन्दी पखवाड़ा कार्यक्रमको उद्‌घाटन एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि डा. भिक्की प्रसाद, आकाशवाणी कार्यक्रम प्रमुख पारसचन्द्र आले, कार्यक्रम समन्वय निष्पादक राजीव सुब्बा, प्रमुख लेखापाल गोपाल छेत्रीको बाहुलीबाट दीप प्रज्जवलन गरेर गरियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. भिक्की प्रसादले भने, आज हामी आफ्नो भाषा संस्कृतिलाई भुलेर अंग्रेजी ज्ञानप्रति गर्व गरिरहेका छौँ। १९४७ अघि पनि यस्तो स्थिति थिएन जतिको अहिले अंग्रेजीप्रतिको हाम्रो मोह बढ़ेको छ। आज हामी हाम्रो छोरा-छोरीलाई अंग्रेजी स्कूलमा पठाएर गर्व गर्छौँ, यो वर्तमानको स्टेटस नै बनेको छ। स्वतन्त्रतापछि ७४ वर्ष बितिसकेको छ हाम्रो अंग्रेजीप्रतिको मोह बढ़ेर गएको छ। पढ़ाउने सर्वोत्तम भाषा मातृ भाषा हो भनेर विद्वान मानिसहरू जान्दछन्‌ तर अंग्रेजी माध्यमको स्कूलहरूमा पढ़ाउन उनीहरू विवश छन्‌। नानीहरूलाई फिप्टी सिक्स भन्न आउँछ तर छप्पन भन्न आउँदैन। यसको निम्ति हामी नै उत्तरदायी हौँ। अहिले सबै फरर अंग्रेजी बोल्दा गर्व गर्छन्‌। हाम्रा राज नेताहरू विदेशमा जाँदा अंग्रेजीमा बोल्छन्‌, विदेशकाहरू यहाँ आउँदा उनीहरूको भाषामा बोल्छन्‌।’

डा. प्रसादले अंग्रेजी प्रतिको मोह यस्तै रहेको खण्डमा आगामी समयमा न त भानुभक्त, न त प्रेमचन्द जन्मन्छन्‌, हाम्रो साहित्य मासिएर जानेछ भनी दुःख प्रकट गरे। उनले १२ सेप्टेम्बर १९४९ देखि १४ सेप्टेम्बर १९४९ सम्म विषद चर्चापछि हिन्दीलाई राष्ट्रिय भाषाको रुपमा विकास अनि प्रसार-प्रसारको निम्ति अनुच्छेत ३५१ मा जोर दिइएको छ भनी बताए। उनले अझ भने, भारतमा १२ महिनामा १३ तिहार हन्छ भनिन्छ, आज हामी हिन्दी दिवसको तिहारमा जोड़िएका छौँ। सेप्टेम्बर महिनामा हामी १५ दिनसम्म हिन्दी दिवस पालन गर्छौँ, विभिन्न केन्द्र सरकारका कार्यालयहरूमा विविध कार्यक्रमको साथमा यो दिवस पालन गरिन्छ। यस दिवसमा हामी हाम्रो राष्ट्र भाषालाई याद गर्छौँ।’

आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख प्रमुख पारसचन्द्र आलेले आफ्नो सम्बोधनमा हिन्दी दिवसको अवसरलाई औपचारिकताको रुपमा मात्र लिन नहुने तर यसलाई कर्तव्यको रुपमा लिन पर्ने बताउँदै प्रत्येक वर्ष राष्ट्र भाषा हिन्दीलाई प्रचार-प्रसार र अघि बढ़ाउनको निम्ति हामी सबै जुट्‌ने गर्छौँ। यस वर्षको हिन्दी दिवसमा पनि अघिको जस्तै सबैले जुटेर अंशग्रहण गर्नु पर्ने, सबैले विभिन्न कार्यक्रममा सहभागिता जनाउन पर्छ भनी अपिल गरे। उनले कार्यक्रममा धन्यवाद ज्ञापन पनि गरे। हिन्दी विभाग प्रभारी ललित सेवाले सञ्चालन गरेको यो कार्यक्रममा समन्वय कार्यक्रम निष्पादक राजीव सुब्बा, मिङ्‌मा डुक्पा, दावा नर्बू यल्मो अनि अन्यान्यले पनि वक्तव्य राखेका थिए। कार्यक्रम सञ्चालनको क्रममा ललित सेवाले आकाशवाणी खरसाङमा अधिकारी अनि कर्मचारीहरूको अवकाशपछि स्थायी कर्मचारीहरू सकिन्दै गएकोमा खेद प्रकट गर्दै अघिको समयमा हिन्दी दिवसको अवसरमा सहभागीहरू खचाखच भरिएको हुने गरेको र वर्तमानमा कर्मचारीहरूको अवकाशसितै सहभागीहरू कम हुँदै गरेको बताए। हिन्दी पखवाड़ा अन्तर्गत आगामी १९ सेप्टेम्बर स्वरचित कविता पाठ प्रतियोगिता, २० सेप्टेम्बर आँशु भाषण प्रतियोगिता, २३ सेप्टेम्बर निबन्ध-टिप्पण लेखन प्रतियोगिता, २४ सेप्टेम्बर अन्ताक्षरी प्रतियोगिता अनि ३० सेप्टेम्बर समापन समारोह सम्पन्न हुनेछ भनी जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement