गान्तोक: अल सिक्किम गुरूङ (तमु) बुद्धिस्ट एसोसिएशनको एक सभा हिजो देउरालीस्थित एक होटलमा सम्पन्न भयो। उक्त सभामा तदर्थ समितिका सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरियो। उल्लेखनीय छ, गत ३१ अगस्तको दिन संघको आमसभा गान्तोकस्थित रोधीघरमा सम्पन्न भएको थियो भने उक्त सभामा तदर्थ समिति गठन गरिएको जानकारी गराइएको छ। यस समितिमा अध्यक्षको पदमा खिलवर्ण गुरूङ नियुक्त गरिएको छ भने उपाध्यक्ष कैलाश गुरूङ, महासचिव नवराज गुरूङ, कोषाध्यक्ष राजदीप गुरूङ र भवानी गुरूङलाई प्रचार सविचको रूपमा मनोनित गरिएको थियो। यसबाहेक नविन गुरूङलाई चुनाउ आयुक्त र लक्ष्मण गुरूङलाई कानुनी सल्लाहाकको रूपमा मनोनित गरिएको थियो। तदर्थ समिति गठन गर्नुको मुख्य उद्देश्य आगामी दिनमा संघको चुनाउ गराउनु रहेको छ। तर चुनाउको मिति भने अहिलेसम्म तय नभएको र शीघ्र चुनाउको मिति पनि घोषणा गरिने हिजो सम्पन्न भएको सभाले निर्णय लिएको छ। उक्त सभामा मुख्यरूपमा संघको चुनाउ गराउने विषयमा चर्चा परिचर्चा हुनको साथै राज्यका अन्य ११ जाति सरह गुरूङ समुदायलाई पनि जनजातिको सूचीमा अन्तर्भुक्त गराउन गुरूङ समुदायको इतिहास,परम्परा, संस्कृति, संस्कारबारे लेख बुझाउनु भएकोले यसबारेमा पनि छलफल गरियो। राज्यका छुटेका १३ समुदायलाई जनजातिको मान्यता दिलाउनु पर्ने विषयमा वर्तमान सरकार स्वंयले चासो राखेर पहल गरिरहेको हुनाले यस पल्ट गुरूङ समुदायको इतिहास राम्रो प्रकारले तयार गर्नुपर्ने जानकारी गराइयो। यसको निम्ति गुरूङ समुदायमा एकताको आवश्यक रहेको महसुस गर्दै यसको निम्ति सबैले आ-आफ्नो तर्फबाट योगदान पुऱ्याउनु पर्ने पनि सभामा आग्रह गरियो।
हिजो सम्पन्न भएको सभामा एन विक्रम गुरूङ, एसबीएसका अध्यक्ष डीबी गुरूङ, पूर्वमन्त्री जीएम गुरूङ, प्रेम राज गुरूङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।










