भाजपा सिक्किमको समीक्षा बैठक

IMG-20240912-WA0350

गान्तोक: भारतीय जनता पार्टीको सिक्किम प्रदेश समितिले सदस्यता अभियान अन्तर्गत आज गान्तोकस्थित शहरी कार्यालयमा समीक्षा बैठक सम्पन्न भयो। यस अवसरमा पार्टीका राष्ट्रिय महामन्त्री एवं पूर्व राज्यसभा सांसद दुष्यन्त कुमार गौतमको विशेष उपस्थिति रहेको थियो। बैठकमा प्रदेश अध्यक्ष डीआर थापा, सदस्यता अभियानका संयोजक अर्जुन राई, पार्टी पदाधिकारीगण, जिल्ला तथा मण्डल स्तरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गत २ सेप्टेम्बरको दिन देशसँगै ३ सेप्टेम्बरदेखि सिक्किममा पनि शुरू भएको पार्टीको सदस्यता अभियान अन्तर्गत अहिलेसम्म देशमा पार्टीका २ करोडभन्दा अधिक सदस्य जोड़िसकेका छन् भने राज्यमा पनि २ हजारभन्दा अधिक सदस्यहरूले आफ्नो नाम दर्ता गरिसकेका छन्। आजको बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय महामन्त्री गौतमले पार्टीको विचारधारा, इतिहास र संघर्षका गाथाहरूमाथि प्रकाश पार्दै स्थापनाकालदेखि अहिलेसम्मको यात्राबारे उपस्थित कार्यकर्ताहरूमाझ प्रकाश पार्दै हौसला प्रदान गरे। उनले विशेष गरी भाजपाको विचारधारा राष्ट्रवादमाथि प्रकाश पार्दै सिक्किम पनि सीमान्त राज्य भएकोले यहाँ भारतीय जनता पार्टीलाई मजबुत बनाउन जरूरी रहेको बताए। उनले आज बिहान नथुला भ्रमण क्रममा आफूले स्थानीय एक सीमान्त गाउँमा पनि सदस्यता अभियानमा सहभागिता जनाएको जानकारी गराए। सोही प्रकारले प्रदेश अध्यक्ष डीआर थापाले उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सदस्यता अभियानलाई अझ प्रभावी ढंगमा अघि बढ़ाएर लानुपर्ने कुरामा जोड़ दिए। सदस्यता अभियानको अवधि पार्टी कार्यकर्ताहरूले जनसाधारणलाई मोदी सरकारका विभिन्न जनकल्याणकारी योजनाहरू साथै रोजगारका अवसरहरूबारे पनि जागरूक साथै युवाहरूलाई प्रोत्साहित गर्न आह्वान गरे। सेवा नै संगठनको मूलधारामा चल्ने भारतीय जनता पार्टीका प्रत्येक कार्यकर्ताले यसलाई व्यवहारमा उतारेर सिक्किमे जनताको कल्याणको निम्ति काम गर्नुपर्ने उनको आग्रह थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement