भद्रपुर: देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलसहित देशभरबाट २७ जना प्रतिस्पर्धाका लागि छनौटमा परेका छन्।
कल्प इम्पावर वेमेन नेपालको आयोजनामा भएको शी लिड्स आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिहरु प्रतिस्पर्धाका लागि छनौटमा परेका हुन्।
देशभरका १सय २८ जना महिला जनप्रतिनिधिहरुबाट २७ जना छनौट भएका हुन्।निर्णायक मण्डलले महिला स्वाथ्य, महिला उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका कुरामा ध्यान दिएको बताइएको छ।
निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जोशी श्रेष्ठ रहेका छन्।
छनोटमा परेका २७ महिला जनप्रतिनिधिहरुबिच २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा उत्कृृष्ट तीन जनालाई विजेता घोषणा गरिने आयोजकले जनाएको छ।










