भद्रपुर: रसुवामा निर्माणाधीन रसुवागढी सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण ६५ प्रतिशत सम्पन्न भएको छ। चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ।
दुई देशको आयातनिर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो। कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको काम गत वर्षदेखि नियमित रूपमा भइरहेको समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दगाह निर्माणको काम ६५ प्रतिशत काम सकिएको बताउँदै बन्दरगाहभित्र गोदाम, पार्किङ स्थल, वेयर हाउस, सडक पहुँच, रिटर्निङवाल लगाउने काम पनि सम्पन्न भएको जानकारी दिए।
बन्दरगाह निर्माणको काम तीव्र गतिमा अगाडि बढेकाले आगामी जुलाई महिनाभित्र सकिने उनले जानकारी दिए। बन्दरगाहभित्र पाँच तलाको प्रशासनिक भवन बनिरहेकोमा तीन तला तयार भएको समितिले जनाएको छ। प्रशासनिक भवनभित्र क्वारेन्टाइन, भन्सारलगायतका काम हुने छन्।
बन्दरगाहभित्र ७४० स्क्वायर फिटको पार्किङ स्थल निर्माण गरिएको छ। जसमा तीन सय वटा ट्रक पार्किङ गर्न सक्ने व्यवस्था रहेको समितिले जनाएको छ। बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ। बन्दरगाह निर्माणका काम सन् २०२० नोभेम्बरदेखि सुरु भएको हो। आगामी सन् २०२५ जुलाईसम्म बन्दरगाह निर्माण गरिसक्नुपर्ने सम्झौता भएकाले पनि त्यसअघि नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ।
कोभिडका कारणले लामो समयदेखि रोकिएको काम हाल नियमित रूपमा भइरहेकाले तोकिएको समयमै सक्ने दाबी उहाँले गर्नुभयो। बन्दरगाह निर्माण सम्पन्न भएपछि आयातनिर्यातलाई सहज बनाउने उनको भनाइ छ। “नेपाल–चीनबिचको रसुवा नाकामा राम्रो पूर्वाधारसहितको बन्दरगाह तयार भएपछि व्यापार लागत घट्न सघाउ पुग्छ,” उनले भने।
रसुवा नाका नेपालको नजिक पर्ने हुँदा बन्दरगाह निर्माण भएपछि नियमित रूपमा सामान आउने हुँदा यसले व्यापारी र उपभोक्ता दुवैलाई फाइदा हुने छ। बन्दरगाहको लागत दुई अर्ब १६ करोड ६० लाख रुपियाँ रहेको छ। बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन्। बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ। समितिका अनुसार बन्दरगाहको एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षा निकाय रहने छन्।
रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विसाखापटनमा हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीहरू बताउँछन्। अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म लाग्ने गरेको छ। रसुवा नाकाबाट सामान आउँदा सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको भनाइ छ। रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमांडू आउने व्यवसायीको अनुमान छ।











