भद्रपुर: झापाको बिर्तामोडमा रहेको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन्।
एनेस्थेसिया सम्बन्धी चिकित्सक बिना नै हेल्परले अप्रेशन गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका हुन्।
दुर्घटनामा घाइते भएका भारतको बिहारस्थित जोगबनी घर भई हाल फिदिम नगरपालिका वडा नम्बर २ पल्लोटारमा बस्दै आएका ३० वर्षीय मोहमद इर्साद हुसेनको उपचारका क्रममा मृत्यु भएको हो।
त्यसपछि आफन्तहरुले अस्पतालमा होहल्ला गरेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो।
अस्पतालमा तनाव भएपछि प्रहरी पठाएर स्थिति सामान्य बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए।
उनले अस्पताल पक्षले उपचार खर्च मिनाहालगायत लेनदेनमै विवाद मिलाएको कुरा सुनेको जानकारी दिए। त्यसपछि मृतक परिवारले शव बुझेका थिए। हुसेन पाँचथरको एक ट्रयाक्टर ग्यारेजमा काम गर्दथे।
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ लाँलीखर्कस्थित मेची राजमार्गमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको प्र १-०१-००१ ख ४३३४ नम्बरको ट्रक र फिदिमतर्फ जाँँदै गरेको हुसेन चढेको मे. ८ प ७९०४ नम्बरको मोटरसाइकल शनिवार दिउँसो १२ बजे एकापसमा ठोक्किएको थियो। तिघ्रामा चोट लागेर हुसेन गंभीर घाइते भएका थिए।
उनलाई पाँचथर जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि सो दिन बेलुका स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा रिफर गरिएको थियो।
ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर २ काबेली निवासी ३६ वर्षीय तिलक भण्डारीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ।










