नाथुला दिवस पालन

IMG-20240911-WA0307

भारतीय सेनाको बलिदान र सौर्यले गर्दा आज देश सुरक्षित: राज्यपाल

गान्तोक: प्रत्येक वर्ष ११ सेप्टेम्बरको दिन नाथुला दिवस पालन गरिन्छ। यसै अवसरमा आज राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, सिक्किम उच्च न्यायालयका न्यायधिश विश्वनाथ सोमाद्दर, मुख्य सचिव भीबी पाठक, पुलिस महानिदेशक एके सींह लगायत अन्य अधिकारीहरू नाथुला पुगे।
राज्यपाल, मुख्यमन्त्री तथा अन्यहरूले १९६७ मा भएको चीन भारत सीमा युद्धमा ज्यान गुमाउने भारतीय सेनाहरूलाई सम्मान गर्दै सोरेथाङ वार मेमोरियलमा उनीहरूको स्मृतिमा पुष्प अर्पण गरे।
५८औं नाथुला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल ओम प्रकाश माथुरले विश्वमा भारत देशको सम्मान र स्थान प्रतिदिन बढ़िरहेको बताए। यो केवल राजनीतिक व्यक्तित्वहरूले गर्दा मात्र नरहेर भारतीय सेनाको योगदानले गर्दा सम्भव भएको बताए। भारतीय सेनाको बलिदान र सौर्यले गर्दा आज देश सुरक्षित रहेको उनले किटान गरे। १९६७ मा नाथुलामा भारतले चीनलाई घुड़ा टेकाउन सक्षम बनेको वीर गाथालाई असलरुपले चित्रण गरेर एउटा चलचित्रनै निर्माण गरेर विश्वसमक्ष पुऱ्याउनुपर्ने आवश्यकतालाई बोध गर्दै आफ्नोपक्षबाट केही गर्ने राज्यपालले प्रतिबद्धता व्यक्त गरे। उनले यहाँ तैनाथ सबै जवानहरूलाई हौसला प्रदान गर्दै सबै सम्माननीय रहेको बताए।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले भारत देशले सैन्य क्षेत्रमा धेरै विकास गरेर गइरहेको बताए। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले विश्व आकाश छोइरहेको पनि उनले बताए। प्रधानमन्त्री स्वयं पनि प्रत्येक चाढ़ पर्वमा सीमानामा पुगेर त्यहाँ तैनाथ जवानहरूको मनोबल बढ़ाउने कार्य गरिरहेको बताउँदै आफू पनि यहाँ उपस्थित बनेर यहाँ तैनाथ जवानहरूसँग भेटघाट गर्ने अवसर प्राप्त गरेकोमा खुशी व्यक्त गरे।
यसरी नै गत वर्ष ४ अक्टोबरमा आएको प्राकृतिक प्रकोप साथै अन्य विभिन्न समयहरूमा सिक्किम राज्यलाई सेनाले दिएको सहयोगको निम्ति उनले सबैप्रति आभार व्यक्त गरे। सिक्किमलाई अझ सुनौलो समृद्ध अनि सक्षम बनाउन उनले सेना साथै सेनाका अधिकारीहरूबाट पनि सल्लाह सुझाउको अपेक्षा राखे। यस कार्यक्रमलाई सिक्किम उच्च न्यायलयका न्यायाधीश विश्वनाथ सोमाद्दरले पनि सम्बोधन गरेका थिए। कार्यक्रमपछि राजयपाल, मुख्यमन्त्री लगायत अन्यले सेनाहरूसँग भलाकुसरी गर्दै उनीहरूको मनोबल अझ दह्रिलो पार्ने कार्य गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement