गान्तोक: गान्तोकको नील तारा एकाडेमीले एक महत्वपूर्ण पदक्षेप लिँदै इनहाउस रेडियो स्टेशन प्रोजेक्ट नील तारा रेडियो शुरु गरेको छ। यो पहल विकसित भारत भीजन र नयाँ शिक्षा नीतिसँग जोड़ेर विद्यार्थीहरूमा सन्चार र आत्मविश्वास क्षमता विकास गर्न डिजाइन गरिएको हो।यो कार्य शुरु गर्ने नील तारा स्कूल पूर्वोत्तर क्षेत्रकै पहिलो स्कूल हो। एकाडेमीले आजका विद्यार्थीहरू भोलिको विकसित भारतका स्तम्भ हुन् भन्ने नारालाई प्रमुखता दिएको छ। यस रेडियो प्लेटफर्मको माध्यमबाट, विद्यार्थीहरूले स्वतन्त्र रूपमा आफूलाई अभिव्यक्त गर्न सक्छन् भने आवश्यक सञ्चार कौशल विकास गर्न सक्नेछन्। परियोजनाले छलफल, प्रस्तुतीकरण, र सार्वजनिक भाषण विकास गर्नमा प्रोत्साहित गर्ने बताइएको छ। नील तारा एकाडेमीले समग्र शिक्षा र नेतृत्व विकास भूमिकाका लागि विद्यार्थीहरूलाई तयार गर्ने प्रतिबद्धतालाई जोड़ दिएको छ। उद्घाटन कार्यक्रममा एकाडेमी अध्यक्ष नन्दु तिवारी, कवि प्रविण खालिङ र प्रेस क्लब अफ सिक्किमका महासचिव डिल्लीराम दुलाल अतिथिका रूपमा उपस्थित थिए। भारतलाई एक जीवन्त ज्ञानको समाजमा रूपान्तरण गर्न नील तारा एकाडेमीले विद्यार्थीहरूलाई विभिन्न प्रकारका क्षमता विकास गर्ने तयारी गरेको छ। यस पहलले विद्यार्थीहरूलाई २१औं शताब्दीमा सशक्त बनाउनमा मदत गर्ने आशा राखिएको छ।










