सुकना। गत शनिबार नेपाली भाषा मान्यता दिवसको अवसरमा सुकना साहित्यिक सांस्कृतिक संस्थान अनि नरबहादुर दाहाल अभिन्दन ग्रन्थ आयोजन समितिको संयुक्त तत्वावधानमा भाषा दिवस कार्यक्रम आयोजन गरियो। कार्यक्रमको अध्यक्षता नरबहादुर दाहाल अभिन्दन ग्रन्थ आयोजन समितिका संयोजक जे. बी. छेत्रीले गरेका थिए। छेत्रीले आफ्नो अध्यक्षीय सम्बोधनमा इन्द्रबहादुर राई, डा. कुमार प्रधान, नरबहादुर भण्डारी, हरिप्रसाद गोर्खा राई जस्ता दिवङ्गत भाषा संग्रामीहरूको सम्झना गर्दै उनीहरूको नाम नेपाली भाषा साहित्यको इतिहासमा स्वर्ण अक्षरमा लेखिनुपर्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुकना साहित्यिक सांस्कृतिक संस्थानका सचिव सूर्यमणि शर्माले संविधानको आठौं अनुसूचीमा नेपाली भाषाले मान्यता पाएपछि पनि भषाको उत्थान राम्रोसँग हुन नसकेको कुरा उल्लेख गर्दै अब हामी भाषा उत्थान कार्यमा जुट्नुपर्ने बताए।
कार्यक्रममा के. के. विश्वकर्मा, अशोक प्रधान, दुर्गा शर्मा, ध्रुब छेत्री, घनश्याम शर्मा आदिले पनि आआफ्नो विचार राखे। कार्यक्रममा खग गुरागाईं, सुमन तोलङ्गी, शर्मिला दियाली आदि प्रमुख रूपमा उपस्थित थिए। कार्यक्रममा अन्य विविध विषयमा पनि चर्चा गरियो।