खरसाङ: खरसाङ बजार क्षेत्रमा देखिएको ट्राफिक जामको समस्यालाई लिएर आज खरसाङ नगरपालिकाको आयोजनामा सभा सम्पन्न भएको छ। उक्त सभामा खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान लगायत दार्जिलिङ आरटीओबाट एमभीआई, खरसाङ ट्राफिक पुलिस ओसी सञ्जीव दत्त साथै खरसाङ नगरपालिकाको अधिकारीहरू उपस्थित रहेका थिए। खरसाङ बजार क्षेत्रमा ट्राफिक जामको समस्याले गर्दा जनसाधारण, विद्यार्थीहरू र वरिष्ठ नागरिकहरूलाई भईरहेको असुविधालाई ध्यानमा राखेर खरसाङ नगरपालिकाद्वारा जिल्लापाललाई गरेको पत्रचारको आधारमा आजको सभा सम्पन्न भएको बताइएको छ। उक्त सभामा खरसाङ बजार क्षेत्रमा ट्राफिक जामको समस्या समाधान गर्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। यसको साथै खरसाङमा स्थायी रूपमा पार्किङ स्थल नबनिएसम्म अस्थायी रूपमा पार्किङको लागि स्थानहरूको पनि सभापछि निरीक्षण गरिएको जानकारी प्राप्त भएको छ।

यसको साथै जथाभावी बाइकहरू पार्किङ गरिएको विषयमा पनि चर्चा परिचर्चा गरिएको अनि यसको लागि भविष्यमा उच्च स्तरीय सभा गरिने भएको जानकारी प्राप्त भएको छ। त्यसरी नै यस विषयमा जीटीए प्रमुख कार्यपाल अनित थापालाई पनि जानकारी गराइने भएको छ। खरसाङमा ट्राफिक जामको समस्यालाई लिएर गरिएको उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा हुने ट्राफिक जामको समस्यालाई लिएर जिल्लापाललाई पत्रचार गरेको थियो र त्यसैको आधारमा आजको सभा बोलाइएको जानकारी गराएका छन्। उनले खरसाङ क्षेत्रमा हुने गरेको ट्राफिक जामको समस्या समाधान टके लागि चर्चा परिचर्चा गरिनुको साथै ट्राफिक जामको समस्या समाधानको लागि खाली स्थानहरूको पनि निरीक्षण गरिएको जानकारी गराएका छन्।

उनले बजारमा जनसाधारण, विद्यार्थीहरू र वरिष्ठ नागरिकहरूलाई असुविधा नहोस् भनेर नै अवैध दोकानहरू र नालीहरू खाली गराइएको हो अनि अब जथाभावी पार्किङ गरिएको गाड़ी र बाइकहरूले समस्या गरिरहेको कारणले त्यसपट्टि पनि कार्य गरिने बताएका छन्।










