एसकेएम सरकारले लथालिङ्ग अवस्थामा रहेको पारूहाङ साप्तेन माङखिमलाई मूर्तरूप दिने कार्य गऱ्यो: कला राई
गान्तोक: पारूहाङ साप्तेन माङखिम समितिको १९औं स्थापना दिवस आज राङ्कास्थित पारूहाङ साप्तेन माङखिम परिसरमा पालन गरियो। यस अवसरमा बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राई मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथिकोरूपमा रहेका थिए।
कार्यक्रमलमा सम्बोधन गर्दै मुख्य अतिथि विधायक कला राईले एसकेएम पार्टी सरकारमा आएपछि लथालिङ्ग अवस्थामा रहेको पारूहाङ साप्तेन माङखिमलाई मूर्तरूप दिने कार्य गरिएको बताइन्। पूर्व सरकारका मुख्यमन्त्री राई समुदायको भए तापनि यसको निर्माण कार्यमा अवहेलना गरेको र धेरै वर्षमा लथालिङ्ग छोडेको उनले आरोप लगाइन्। तर वर्ष २०१९ मा एसकेएम पार्टीको सरकार गठन हुनसाथ यस परियजोनालाई प्राथमिकता दिँदै काम गरेवापत तीन वर्षको अवधिमा यसको निर्माण कार्य पूरा भएकोमा विधायक राईले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरिन्।
राई समुदायको निम्ति यो धरोहरको ठूलो महत्व रहेको र विश्वस्तरमा नै राई जातिको निम्ति यस प्रकारको धरोहर निर्माण नभएको पनि उनले दावी गरिन्। २५ वर्षसम्म शासन गर्ने र सरकारले राई समुदाय मात्र नभएर अन्य समुदायलाई पनि अन्याय गरेको उनले ठोकुवा गरिन्। तर वर्तमान मुख्यमन्त्री तामाङले जात धर्म केही नहेरी यस परियोजनालाई प्राथमिकता दिँदै सहयोगको हात अघि बढाएको उनले जानकारी गराइन्। उनले राई समुदायले आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण नगरे भविष्यमा विलुप्त हुन सक्ने सम्भावना व्यक्त गर्दै यसको संरक्षणको निम्ति युवाहरू अघि आउनु पर्ने आग्रह गरिन्।
यसै क्रममा मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङले वर्तमान मुख्यमन्त्रीले जात र धर्म कहिले पनि सोध्ने नगरेको र यस परियोजना यति छिटो निर्माण हुनुमा उनको ठूलो हात रहेको बताए। एसकेएम पार्टी सरकारमा आउनसाथ राई समुदायलाई मात्र नभएर राज्यमा बसोबासो गर्ने सबै जातिलाई एक सुत्रमा बाँध्ने पहल मुख्यमन्त्रीले शुरू गरेको अवगत गराए। वर्तमान सरकारले राई समुदायको निम्ति राज्यको सबै ठाउँहरूमा माङखिम लगायत अन्य पूर्वधारहरूको निर्माण गरिरहेको उनले बताए।
उनले अहिलेदेखि नै युवाहरूलाई अवसर प्रदान नगरेको खण्डमा राई समुदायको भाषा, साहित्य र संस्कृति निकट भविष्यमा विलुप्त हुने पनि सम्भावना व्यक्त गरे। उनले वितको पाँच वर्षमा सरकारले गरेको कार्यमाथि प्रकाश पार्दै आगामी पाँच वर्षमा सरकारले अझ धेरै काम गर्ने दावी गरे। उनले राई समुदायमा पनि धेरै संघ संस्थाहरू रहेको र यी सबै संस्थाहरूलाई अखिल किराँत राई संघले एकैसाथ अघि बढाएर लैजानु पर्ने आग्रह गरे।
आजको कार्यक्रममा अखिल किराँत राई संघका अध्यक्ष मोहन दुङमालीले एसडीएफ सरकारले पारूहाङ साप्तेन माङखिमलाई कोमामा पुऱ्याएको थियो तर एसकेएम पार्टी सरकारमा आएपछि यसलाई जीवन दिएको बताए। एसकेएम सरकारले यस परियोजनाको निर्माण कार्य युद्धस्तरमा शुरू गरेर तीन वर्षको अन्तरालमा निर्माण कार्य समाप्त भएको उनले बताए। मुख्यमन्त्री तामाङले राई समुदायको निम्ति कुनै कसर बाँकी नराखी स्वच्छ ह्रदय लिएर काम गरेकोमा उनले सम्पूर्ण राई समुदायको तर्फबाट धन्यवाद दिँदै आभार प्रकट गरे।