आर्मीले सिदूरपश्चिमलाई १४-१ले हरायो

IMG-20240910-WA0316

भद्रपुर: विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ।
ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ गोलले हरायो। एकपक्षीय खेलमा आर्मीलाई जिताउन दिपा शाहीले पाँच गोल गरे। यस्तै अनिता लम्जेलले दुई तथा चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, विमला विक र सन्जु कुमालले एक एक गोल थपे।
आर्मीले अर्को एक गोल सुदूरपश्चिमबाट आत्मघाती उपहार पाएको थियो। सुदूरपश्चिमले पनि एउटा गोल आर्मीबाट उपहार पायो। जितसँगै आर्मीले तीन खेलबाट ६ अङ्क बनाएको छ। सुदूरपश्चिम अङ्कबिहीन छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ। दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ।
यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ।

About Author

Advertisement