सितम्बर महिनामा नगरपालिकाको चुनाव हुनुसक्छ – अनित थापा
कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जीटीएको प्रमुख कार्यपाल तीन दिने भ्रमणमा कालेबुङ पुगेका छन्। कालेबुङमा पत्रकारहरूले नगरपालिका चुनावमाथि सोधेको एउटा प्रश्नको जवाबमा थापाले भने, “सेप्टेम्बर महिनामा नगरपालिकाको चुनाव हुनुसक्छ।”
जीटीए चुनावमा जीत हाँसिल गरेपछि पहिलोपल्ट कालेबुङ भ्रमणमा निस्केका छन् भागोप्रमो अध्यक्ष अनित थापा। कालेबुङ जिल्ला अध्यक्ष सीबी गुरुङले दिएका जानकारी अनुसार अध्यक्षको भ्रमण ३ दिनको रहनेछन्। अनित थापाले आफ्नो भ्रमण दार्जीलिङदेखि बिहान ९ बजे सुरु गर्दै पेशोक पुग्दा बाटोमा समर्थक अनि कार्यकर्ताहरु बाटो छेउ उनलाई खादा लगाएर उनको स्वागत गरेका थिए।

त्यसरी नै टिस्टामा जिल्ला समितिका पदाधिकारीहरु, कार्यकर्ताहरुले उनलाई कालेबुङमा स्वागत जनाए। त्यसपश्चात गाडी अनि बाइकको लस्करमाझ थापाको यात्रा कालेबुङको उकालो लागेको थियो। कालेबुङ पुग्न अघि बाटो बाटोमा समर्थक अनि कार्यकर्ताहरुले उनलाई स्वागत जनाउँदै गए अनि अन्ततः कालेबुङ थाना डाँडामा विधायक रुदेन सादा लेप्चा, सीबी गुरुङ अनि विनय घिसिङले उनलाई स्वागत गरेका थिए। पछिबाट उनलाई डेलोमा लगियो जहाँ उनी आगामी तीन दिनसम्म बस्नेछन्।

आगामी दुई दिनमा थापाले पार्टीको साङ्गठनिक सभा साथै प्रशासनिक बैठकहरुमा बस्ने जाकारी प्राप्त भएको छ।