भद्रपुर: पाँचथरमा घोडाबाट लडेर एकजनाको मृत्यु भएको छ। घरबाट घोडा चढेर खेत गएका कुम्मायक-१ का मोहन थापाको घोडाबाट लडेर मृत्यु भएको हो। हिजो बिहान ७ बजे खेतमा काम गर्न गएका ४५ वर्षीय थापा चढेर गएको घोडामात्रै फर्केपछि खोजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए। घोडा आएको घण्टौंसम्म थापा घर नफर्केपछि खोजतलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेपछि घर ल्याइ पुर्याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार थापा उच्च रक्तचापको बिरामी थिए। केही दिन अघिदेखि नियमित औषधि सेवन गर्न छोडेका थिए। उनी उच्च रक्तचापकै कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ।