भद्रपुर: झापाको बिर्तामोडमा दुई समूहबीच झडप भएको छ। केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको छ। झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबीच झडप भएको हो। केटीको विषयमा अन्दाजी १०-१२ जना युवाबीच ग्याङ फाइट भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
प्रहरीका अनुसार बिर्तामोड ६ बस्ने ३७ वर्षीय जागिर हुसेन घाइते भएका छन्। उनलाई उपचारको लागि मनमोहन अस्पताल लगिएको छ। त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी १८ वर्षीय अरुण राई, सोही ठाउँ बस्ने अन्दाजी १७ वर्षीय सबिन तामाङ र वडा नम्बर ४ बस्ने १३ वर्षीय राकिब आलमलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको साथबाट एउटा फलामको कट्टी, एउटा फलामको रडको रोल बरामद भएको छ। तीनजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।