खरसाङ: खरसाङको एकगैर सरकारी संस्था ‘ए बेटर लाइफ’ खरसाङले आज खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा एक कार्यक्रमको आयोजना गरी खरसाङ क्षेत्रका पत्रकारहरूलाई सम्वर्द्धना जनाएका छन्। खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष गरी पत्रकारहरू क्रमैले प्रेस क्लब अफ् खरसाङको सभापति एंव दैनिक जागरणका पत्रकार मुरारीलाल पंचम, प्रेस क्लब अफ् खरसाङको सचिव एंव हिमालय दर्पणको पत्रकार हनोक थापा, हिमालय दर्पणको पत्रकार सुवास छेत्री, हाम्रो खरसाङ टेलिभिजनका निर्देशक राजेन्द्र तामाङ, त्रिवेणी नेटवर्कका छुबु पोद्धार, नमस्ते खरसाङका अर्पण गुरूङलाई खदा लगाएर नेपाली टोपी अनि शाल ओड़ाएर तथा सम्वर्द्धना पत्र प्रदान गरेर सम्वर्द्धना जनाइएको छ। यस कार्यक्रममा मुख्य अतिथिको रूपमा जीटीएका कार्यकारी सभासद नुरी शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा मनोनित सभासद प्रणाम रसाईली, समाजसेवी टीटी लामा, आशा मुखिया लामा, पेमेन्द्र गुरूङ, सोनाम लामा, खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान उपस्थित थिए। श्याम राईले संचालन गरेको कार्यक्रममा सुवास प्रधानले ए बेटर लाइफ खरसाङको कार्य अनि यस संस्थासँग आबद्ध हुनुको कारणबारे अवगत गराए। उनले भने, यस एनजीओको क्रियाकलापहरू राम्रो लागेकोले म पनि उनीहरूसित जोड़िए अनि उनीहरू मसित पनि सर-सल्लाहको लागि आउँछन् र म पनि सम्बन्धित बनेको छु। खरसाङ नगरपालिकाको भाइस चेयरम्यान एंव भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले यस एनजीओले खरसाङ क्षेत्रको पत्रकारहरूलाई सम्मान गर्न चाहेकोले म पनि उनीहरूसित जोड़िएको बताए।

कार्यक्रममा पत्रकार सुवास छेत्रीले भर्खरै गठित यस संस्थाले यसरी खरसाङ क्षेत्रका पत्रकारहरूलाई सम्मान जनाएकोमा सम्पूर्ण पत्रकारहरूको पक्षमा हार्दिक कृतज्ञता प्रकट गरे। तिनले संस्था चलाउनु उस्तो सजिलो नभए तापनि संस्थाकी यी चेलीहरूले एउटा ठूलो आँट गरेर संस्था स्थापना गरेको कार्यको सरहना गर्दै बधाई दिए। सभाअध्यक्ष श्याम शेर्पाले हाम्रो खरसाङलाई राम्रो खरसाङ बनाउन निस्किएका यस्ता संघ-संस्थाहरूलाई हामीले सहयोग पुर्याउनु पर्छ भन्दै आफ्नो पक्षबाट सकेजति सबै सहयोग प्रदान गर्ने वचन दिए। सभासद श्याम शेर्पाले ए बेटर लाइफ खरसाङले आज कार्यक्रम गरेर खरसाङका पत्रकारहरूलाई सम्मान जनाएकोमा बधाई दिन्दै सबै पत्रकारहरूको कामको फल हो यो भन्दै संस्थालाई पनि बधाई दिएका छन् । उनले अहिलेका नानीहरूमा धेरै ट्यालेन्टे हुन्छ तर उनीहरूको विचार सुनिदिने कम हुन्छ भन्दै आज हामीले पनि नानीहरूले गरेको राम्रो कार्यक्रममा समय निकालेर उपस्थिति दिन सकेको बताए। शेर्पाले खरसाङ हाम्रो हो र सोच पनि हाम्रै हुनुपर्छ भन्दै कसरी हाम्रो खरसाङलाई राम्रो बनाउन सक्छौं र हाम्रो नानीहरूलाई राम्रो बनाउने सोच हामीले नै राख्नुपर्छ तर बाहिरबाट केही पनि आएर गर्दैनन् हामीले नै गर्नुपर्छ भनी बताएका छन्। कार्यक्रममा विविध रंगारंग कार्यक्रमहरू जस्तै गीत, नृत्य आदि प्रस्तुत पनि आयोजना गरिएको थियो। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै संस्थाकी संस्थापिका रश्मी सुब्बाले संस्था खोल्नुको उद्धेश्य र औचित्यबारे प्रकाश पारिन अनि आगामी दिनहरूमा गर्ने कार्यक्रमको रूपरेखाबारे अवगत गराइन्।