गेजिङ: सिक्किमको कराते टोलीले गुवाहाटीमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३८ वटा पदक जित्न सफल भएको छ। सिक्किम राज्य कराते-डू संघको अगुवाइमा गएको टोली ६ देखि ८ सेप्टेम्बरसम्म असमको राजधानी गुवाहाटीमा आयोजित तेस्रो उत्तर पूर्व कराते च्याम्पियनशीपमा ३८ वटा पदक जित्दै सिक्किमको शान बढाएको छ। टोलीले ४ स्वर्ण, ८ रजत र २६ कास्य पदक जित्दै सिक्किमलाई करातेको क्षेत्रीय स्तरमा थप उचाइँमा पुर्याएको छ। यस च्याम्पियनशीपमा स्वर्ण पदक विजेताहरू सुरक्षा राई, महिमा शर्मा, प्रज्ञा क्षेत्री र मुस्कान तामाङ हुन्। यसका साथै मनिषा राईले २ रजत पदक जित्न सफल भएकी छन् भने लेडिया सुब्बा, इश्मोर्ण सुब्बा, तेन्सुङ एन भुटिया, दित्य प्रधान, जेसुरा तामाङ र विशाल विष्टले पनि रजत पदक जितेका छन्। स्वर्ण र रजत पदक विजेता खेलाडीहरू आगामी क्षेत्रीय राष्ट्रिय कराते च्याम्पियनसिपका लागि छनोट भएका छन्। कास्य पदक जित्ने खेलाडीहरूको सूची लामो छ। मानविका क्षेत्री, जिक्मी भुटिया, जेन्सन ए राई, पेमाकिम सी भुटिया, प्रितिका तिम्सिना, याङ्चेन तामाङ, अनमोल दुलाल, युरमित तामाङ, श्रवण थापा, हार्दिक क्षेत्री, प्रतीक विष्ट, अथर्व क्षेत्री, सुनिता राई लगायत अन्य धेरै खेलाडीले कास्य पदक जितेका छन्। यस सफल यात्राको नेतृत्व प्रशिक्षकहरू दिनेश राई, बिनाम गुरुङ र विमला तामाङले गरेका थिए भने टोली व्यवस्थापक विष्णु राई थिए। सिक्किमको यो ऐतिहासिक प्रदर्शनले राज्यका खेल प्रेमीहरूको मन जित्न सफल भएको छ र आगामी प्रतियोगिताहरूमा पनि अझ राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ।