न्यूयोर्क: इटलीका स्टार खेलाड़ी यानिक सिनरले सालको अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको खिताब जिते। फाइनलमा सिनरको भिड़न्त अमेरिकी खेलाड़ी टेलर फ्रिट्जसँग भएको थियो। शीर्ष वरीयता प्राप्त खेलाड़ीले एकतर्फी फाइनलमा १२औं वरीयता प्राप्त स्थानीय खेलाड़ीलाई सीधा सेटमा ६-३, ६-४, ७-५-ले पराजित गरे। यस जीतको साथै विश्वका नम्बर एक खेलाड़ी सिनर यूएस ओपनमा ट्रफी जित्ने इटलीका पहिलो खेलाड़ी बने। यस २३ वर्षीय खेलाड़ीको यस साल यो दोस्रो ग्राण्ड स्ल्याम खिताब हो। उनले यस सालको शुरुवातमा अष्ट्रेलियन ओपनको खिताब पनि जितेका थिए। उनले यस सीजनमा ५५ वटा म्याच र ६ वटा खिताब जितिसकेका छन्। यस जीतको साथै सिनरले टेनिस जगतमा आफ्नो अधिपत्य अझ मजबूत बनाए। स्पेनका कार्लोस अल्काराजको साथमा सिनरलाई टेनिस जगतको भविष्य मानिन्छ। अल्काराजले अहिलेसम्म ४ वटा ग्राण्ड स्ल्याम खिताब जितेका छन्।

अर्कोतिर, विश्वका १२औं नम्बरका खेलाड़ी फ्रिट्जको २००३-मा एण्डी रोडिकपछि यूएस ओपनको खिताब जित्ने पहिलो अमेरिकी खेलाड़ी बन्ने सपना टुट्यो। क्यालिफोर्नियाका यस २४ वर्षीय खेलाड़ीलाई २३ हजार दर्शक क्षमता भएको अर्थर ऐश स्टेडियममा दर्शकहरूका भरपूर समर्थन प्राप्त भयो तर उनले आफ्नो गल्तीहरूले गर्दा च्याम्पियन बन्ने मौका गुमाए।