अमेरिकाको राष्ट्रपति चुनाव झनै रोचक बन्दै गएको छ। डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले मंगलबार डेमोक्र्याटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिस र ट्रम्पबीचको पहिलो राष्ट्रपति बहसअघि एक वक्तव्य जारी गरेर सबैलाई चकित बनाएकी छन्। सन् २०२४ को राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको चुनाव प्रचारका क्रममा मेलानिया अहिलेसम्म मौन रहेकी थिइन्, तर अहिले उनले अचानक सार्वजनिक विज्ञप्ति जारी गर्दै ट्रम्पलाई समर्थन जनाएकी छन्। केही समयअघि ट्रम्प र मेलानियाको सम्बन्धविच्छेद हुन लागेको चर्चा चुलिएकोले मेलानियाको प्रतिक्रियाले धेरैलाई आशचर्यमा पारेको हो। ट्रम्पले २०२० को राष्ट्रपतिको चुनाव हारेपछि उनीहरूको सम्बन्धविच्धेद हुन लागेको धेरै अन्तर्राष्ट्रिय मिडियाले दाबी गरेका थिए। त्यतिबेला डेलीमेलले ट्रम्प परिवारका पूर्व सहयोगीहरुको हवाला दिँदै मेलानियाको ट्रम्पसँग सम्बन्ध राम्रो नभएको र उनीहरुको वैवाहिक सम्बन्ध लेनदेनको मात्र भएको दाबी गरेको थियो।
रिपोर्टअनुसार मेलानिया ट्रम्पसँग सम्बन्धविच्छेद गर्न चाहिरहेकी थिइन् तर ट्रम्प पदमा हुँदा शक्तिशाली हुने र यो बेला सम्बन्धविच्छेदसहित सम्पत्तिको माग गर्दा ट्रम्पले समस्या पार्न सक्ने भएकोले ट्रम्प पदबाट हट्दासम्म मेलानियाले प्रतिक्षा गरिरहेको दावी गरिएको थियो। १० सेप्टेम्बरमा एबीसी न्यूजमा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच ९० मिनटको बहस हुनेभएको छ। यस बहस अघि जारी गरिएको भिडियोमा मेलानिया ट्रम्पले अमेरिकामा बढ्दो मुद्रास्फीतिको लागि जो बाइडेन प्रशासनलाई निशाना बनाएकी छिन्। मेलानियाले पनि आफ्ना पति डोनाल्ड ट्रम्पलाई ‘चुप पार्ने प्रयास’ गरिएको बताइन्। इन्स्टाग्राममा सेयर गरिएको ब्ल्याक एण्ड ह्वाइट भिडियोमा मेलानियाले यस चुनावमा डोनाल्ड ट्रम्पलाई दृढताका साथ समर्थन गरिरहेको बताएकी छिन्। भिडियोको शुरुमा मेलानिया भन्छिन्, ‘२०२० को चुनावी नतिजाले हाम्रो (अमेरिकी जनताको) जीवन सधैंका लागि बदलिदियो। यसले हाम्रो जीवनस्तर, खाद्यवस्तुको मूल्य, पेट्रोल, सुरक्षा र भूराजनीतिक परिदृश्यलाई समेत असर गरेको छ।’
भिडियोमा मेलानियाले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको दाबी गरेकी छन्। उनले भनिन्, ‘अमेरिका पहिलेभन्दा आज धेरै विभाजित छ। यो स्पष्ट हुँदैछ कि अभिव्यक्ति स्वतन्त्रताले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ, जसरी मेरो पतिलाई मौन पार्ने प्रयासहरू भए।’ डोनल्ड ट्रम्पले पछिल्लो राष्ट्रपति चुनाव हारेपछि मेलानिया निकै कम देखिएकी छन्। उनी यस वर्षको रिपब्लिकन पार्टीको वार्षिक अधिवेशनमा सहभागी भएकी थिइन्, तर यस अवधिमा पनि उनले सार्वजनिक रूपमा अमेरिकी चुनावबारे टिप्पणी गरेको वा ट्रम्पको समर्थनमा केही बोलेको देखिएन। उनी ट्रम्पको अभियानमा पनि देखिएकी छैनन्, जसको बारेमा ट्रम्पले डेली मेललाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘उनी मेरो अभियानमा सक्रिय रूपमा सहभागी भएमा म खुशी हुनेछु।’ डेली मेलमा ट्रम्पको यो अन्तर्वार्ता १३ जुलाईमा पेन्सिल्भेनियाको एक र्यालीमा उनीमाथि भएको आक्रमणको केही हप्तापछि आएको हो। ट्रम्पले मेलानिया अमेरिकाको बारेमा चिन्तित रहेको र राष्ट्रका लागि आवश्यक पर्ने सबै गर्ने दाबी गरेका थिए। तीन विवाहबाट ट्रम्पका पाँच सन्तान छन्। उनले सन् २००५ मा मेलानिया ट्रम्पसँग विवाह गरेका थिए। मेलानियाबाट ट्रम्पको एक छोरा छन् जसको नाम ब्यारोन ट्रम्प हो।