जनजातिको मुद्दा भागोप्रमोको मुख्य मुद्दा हुने साथै टिस्टा बाढ पिढीताहरूलाई ३ लाख गरेर सहायता राशि दिने अनित थापाको घोषणा
मिरिक: ‘आफ्नो भूमि, आफ्नो माटो र आफ्नो नाम अभियानमा लाग्नु पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आज मिरिकमा सम्पन्न पार्टीको चौथो स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै बताएका छन्। उनले हाम्रो आफ्नै गोर्खाको जमीनमा गोर्खाको नाम हुनुपर्छ बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले अब गोर्खाको जनजातिको मुद्दालाई लिएर अघि बढ़ने घोषणा गर्दै अब जनजातिको मुद्दा भागोप्रमोको मुद्दा हुनेछ भनी घोषणा गरेका छन्। अनित थापाले आफ्नो सम्बोधनमा भने, ‘जनजातिको मुद्दा बंगाल सरकारले केन्द्र सरकारलाई पठाई सकेको छ। अब कसैले पनि भर नपरेर हामी आफै जनजातिको मुद्दालाई लिएर अघि बढनुपर्छ। हाम्रो एक्सपर्टहरूले यसमाथि कार्य गर्नेछ।’ उनले अघि भने, पहिला आफ्नो जमीनमा आफ्नो नाम खोज्नुपर्छ र विस्तारै अघि बढ्नुुपर्छ अनि गोर्खाको किपट पनि भागोप्रमोले नै फत्ते गर्नेछ। जनताको अन्तिम आशा अब भागोप्रमो मात्र रहेको छ।’
अनित थापाले अझ भने, ‘हाम्रो आफ्नै सांसद हुनुपर्छ, हाम्रो आफ्नो ९ जना विधायकहरू हुनुपर्छ। अब २०२६ हुने पुनर्सीमांकनमा हाम्रो आफ्नै ९ जना विधायकहरू र आफ्नो सांसद हुनुपर्छ। त्यसपछि हाम्रो आफ्नो सपना विस्तारै पूरा हुँदै जानेछ। लक्ष्यको लागि हामी सबैजना नडराईकन अघि बड्नुपर्छ।’
पार्टी अध्यक्ष अनित थापाले टिस्टा बाढ पिढीताहरूलाई घर बनाउन ३ लाख गरेर प्रदान गर्ने अनि उक्त राशिबाट सबैले आफै घर बनाउनेछन् भनी बताएका छन्। उनले भागोप्रमोको यात्रा लामो छ र मेरो यात्रा लामो छ अनि गोर्खाले देखेको सपना पूरा गर्नुपर्छ भनी बताएका छन्। अनित थापाले अझ भने, ‘हामी पहाडको राम्रो मार्ग दर्शक भएर उत्रेका हौं, भागोप्रमोको सबै निर्वाचितहरूलाई जनताले चुनेर राखेको हो, जनताको आशा अनुरुप काम गर्नुपर्छ अनि चुनाव जिताउन सहयोग गर्ने कार्यकर्ताहरूलाई साथ लिएर अघि बढ़नुसक्नु पर्छ।’
थापाले भागोप्रमोले तीन वर्षको छोटो अवधिमा नै पहाड़मा धेरै कार्यहरू गरिसकेको छ। पहाड़लाई सुसंस्कार पहाड़ बनाउनुपर्छ। पहडामा जीटीए, नगरपालिका, पञ्चायत समिति र ग्राम पञ्चायतमा पनि भागोप्रमोको बोर्ड रहेको छ। अब पहाड़मा भागोप्रमोको सुसंस्कारको सरकार चलाउनुपर्छ।’
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो चौथो स्थापना दिवस मिरिकको आले खेल मैदानमा भव्य रूपमा पालन गरेको छ। कार्यक्रममा भागोप्रमो केन्द्रीय महासचिव अमर लामा, केन्द्रीय उपाध्यक्ष एंव कालेबुङका विधायक रुदेन सादा लेप्चाले पनि सम्बोधन गरेका थिए। केन्द्रीय प्रवक्ता केशवराज पोखरेल र अम्बिका थापाले सञ्चालन गरेको कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको वेबसाइट पनि लोकार्पण गरिएको थियो। कार्यक्रममा भागोप्रमोको सबै भातृ संगठनहरूका केन्द्रीय सभापति -सचिवहरूलाई पार्टी अध्यक्ष, महासचिव र अन्य केन्द्रीय पदाधिकारीहरूद्वारा खदार्पणसहित सम्मान जनाइएको थियो। यसै कार्यक्रममा कालेबुङ निवासी श्रेयासी तामाङलाई सम्बर्ध्दना पनि जनाइएको छ। उनी लेह लद्दाखमा भएको प्याराग्लाईडिङमा काँस्य पदक जितेका थिए। उनलाई अनित थापाले सहयोगस्वरूप ५० हजार रूपियाँ प्रदान गरेका छन्। कार्यक्रममा सचिन विश्वकर्म, आयुष लामा, अस्मिक खवास, ईशा राई, जितेन लेप्चा लगायत अन्यहरूले गीतहरू प्रस्तुत गरेका थिए।