२१ अगस्तः अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक विकेट लिने भारतीय पेस बलर झूलन गोस्वामीले लर्डसमा भारत र ईंग्ल्याण्डबीच २४ सेप्टेम्बरमा तेस्रो तथा अन्तिम वनडे म्याचको साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिनेछिन्। ईंग्ल्याण्ड यात्रामा तीनवटा म्याचको वनडे सीरीजको निम्ति ३९ वर्षीय झूलनलाई भारतको १७ सदस्यीय टीममा सामेल गरिएको छ। यी तीनवटा म्याच होव (१८ सेप्टेम्बर), केण्टरबेरी (२१ सेप्टेम्बर) र लर्ड्स (२४ सेप्टेम्बर)-मा खेलिनेछ। बीसीसीआई-का एकजना अधिकारीले भने, यस साल मार्चमा न्यूजील्याण्डमा भएको वनडे विश्व कपमा भारतको निम्ति अन्तिमपल्ट खेल्ने झूलनलाई उचित बिदाई दिइनेछ। दक्षिण अफ्रिका विरुद्ध विश्व कपमा भारतको अन्तिम ग्रुप म्याच अघि झूलनको हातमा चोट लागेको थियो। यसैकारण उनी जुलाईमा श्रीलंका यात्राबाट पनि बाहिर रहिन्।
रिपोर्ट अनुसार, झूलनले आउँदो साल हुने पहिलो महिला आईपीएलको निम्ति चाहिँ आफ्नो विकल्प खुला राखेकी छन्। उनी मेण्टोर-को भूमिकाको निम्ति पुरुष टीमसँग पनि समपर्कमा रहेकी छन्। साल २००२-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्ने झूलनले २०१८-मा टी२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएकी थिइन्। यसबाहेक उनले अन्तिमपल्ट टेस्ट म्याच अक्टोबर २०२१-मा खेलेकी थिइन्। ६ वटा विश्व कप खेलिसकेकी झूलनले भारतको जर्सी लगाएर १२ वटा टेस्ट, ६८ वटा टी20 अन्तर्राष्ट्रिय र २०१ वटा वनडे म्याच खेलेकी छन्। वनडेमा उनको नाममा २५२ विकेट रहेको छ। वनडे क्रिकेटमा २०० भन्दा अधिक विकेट लिने उनी एकमात्र महिला बलर हुन्। दोस्रो स्थानमा दक्षिण अफ्रिकाकी शबनम इस्माइल रहेकी छन्। शबनमले अहिलेसम्म १९१ विकेट लिएकी छन्।