भद्रपुर: दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा पेट्रोलियम पदार्थ पत्ता लगाउने समय अझै एक वर्ष थपिएको छ। चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो। गत वैशाख १ गते(१३अप्रैल )बाट अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु भए पनि अझै नसकिएकाले एक वर्ष समय थप भएको हो। मेसिनले जमिनमुनि खनेर पेट्रोलियम पदार्थ भए/नभएको पुष्टि गर्न अझै २ हजार ४ सय मिटर ‘ड्रिलिङ’ गर्न बाँकी छ। यही काम गर्न एक वर्ष म्याद थप गरिएको हो। स्रोतका अनुसार इन्धन फेला पर्ने-नपर्नेमा अझै अन्योल नै छ।
खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच अन्तिम चरणको काम सम्पन्न गर्नका लागि एक वर्ष म्याद थप गरिएको हो। २०१९ सेप्टेम्बरदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको अन्तिम चरणको कामको सम्झौता २०२३ फरबरीमा सकिएको थियो। २०२४ फरबरीसम्म आयोजनाको म्याद थपिएको जियोलोजिष्ट सुरेश श्रेष्ठले बताए। उनले भने , ‘काम रोकिएको छैन, अबको साढे दुई महिनामा ड्रिलिङको काम सक्ने लक्ष्य छ। धेरै काम बाँकी नै छ, त्यसैले एक वर्ष म्याद थप गरिएको हो।’
हालसम्म पेट्रोलियम अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम दुई हजार २० मिटर गहिराइसम्म पुगेको छ। यो काम सक्न अझै साढे दुई महिना लाग्ने जियोलोजिष्ट श्रेष्ठले बताए। उहनका अनुसार अहिले ड्रिलिङको काम धमाधम भइरहेको छ। आयोजनामा चार हजार पाँच सय मिटर गहिराइसम्म ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ। त्यसपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे अध्ययन गरिने श्रेष्ठले जानकारी दिनुभयो।
सरकारले चालु आर्थिक वर्ष २०२४–२०२५भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ। सो लक्ष्यअनुरूप काम भइरहेको छ। चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु भएको हो। दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा अन्वेषण साइट छनोट भएको छ।
अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्नेछ। अन्तिम चरणमा हुने ड्रिलिङलगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ। अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ।
चिनियाँ प्राविधिकको टोलीले २०१९ सालमा स्थलगत अध्ययन गरेको थियो। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिसकेको छ। अहिले ड्रिलिङमार्फत् पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको हो।
खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जियोलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्न दुई अर्ब ४० करोड रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो। यो समझदारी कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (दश महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो । अहिले वर्षायामका केही दिन काम रोकिए पनि धमाधम काम भइरहेको आयोजनाले जनाएको छ।