मालबजार। डुवर्स संलग्न निम्बोङको आइईसी मिसन प्राथमिक पाठशाला निम्बोङको ब्यानरमा निरेन्द्र छेत्री र राजेन थापाको संयोजनमा ३०औँ नेपाली भाषा मान्यता दिवस पालन भएको जानकारी प्राप्त भएको छ।प्राप्त जानकारी अनुसार बरबोट उमाविका शिक्षक प्रभारी भीमप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सहायक कार्यपाल सञ्चवीर सुब्बाको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न पाठशालाका प्रतिनिधिहरू आमन्त्रित थिए। विद्यार्थीहरूलाई लिएर कविता आवृत्ति प्रतियोगिता समावेश रहेको उक्त कार्यक्रममा साहित्यिक एवम् सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। रूपेश छेत्रीको सञ्चालनमा सञ्चालित उक्त कार्यक्रममा शिक्षक अनिल छेत्रीले नेपाली भाषा मान्यता सम्बन्धी वार्ता प्रस्तुत गरे। वार्ताको क्रममा उनले नेपाली भाषाको प्रयोग विषयमा जीटीएले आवश्यक पहल गर्नपर्ने सुझाउ राखे। शिक्षक कमल कटुवाल, शिक्षक बासिल लेप्चा र समाजसेवी इन्द्र स्याङदेनले कार्यक्रममा मन्तव्य गरे। मन्तव्यको क्रममा सबैले भाषाको व्यावहारिकतामाथि जोड दिएका थिए। शिक्षक नगेन्द्र छेत्री अनि भूषण राईले कविता वाचन गरेको उक्त कार्यक्रममा मनोज छेत्री र सचिन भण्डारीले गीत प्रस्तुत गरे भने आयोजक पाठशालाका भूतपूर्व विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। अनुज एसयुएमआई निम्बोङ, नवगाउँ मिसन प्रा. पाठशाला सन्यासी डाँडा, निम्बोङ प्रा. पाठशाला र सन्त जोसेफ प्रा. पाठशाला बरबोटका विद्यार्थी माझ भएको कविता आवृत्ति प्रतियोगितामा सन्त जोसेफ प्रा. पाठशाला, निम्बोङ प्रा. पाठशाला र अनुज एसयुएमआई क्रमैले पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्न सफल भएको थियो। प्रतियोगी पाठशालाहरूलाई पारितोषिक र स्मृति चिह्न प्रदान गरियो। आयोजक पाठशालाका प्रधान शिक्षक हस्तबहादुर थापाको बाहुलीबाट अतिथिगणलाई पनि स्मृति चिह्न प्रदान गरिएको थियो। कार्यक्रममा नेपालीमा सम्मानसहित स्नातक उत्तीर्ण गर्ने विद्यार्थीहरूलाई आयोजक पक्षमा सम्मान पनि जनाइएको थियो। स्थानीय बुद्धिमान राईले अध्यक्षता गरेका उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि भीमप्रसाद शर्माले नेपाली भाषा मान्यता आन्दोलनको इतिहासमाथि प्रकाश पारे। राजेन थापाले धन्यवाद मन्तव्य गरेका उक्त कार्यक्रमको अन्तमा आयोजक पक्षमा प्रमुख अतिथिको बाहुलीबाट जीटीए सहायक कार्यपाल सञ्चवीर सुब्बालाई सम्मान जनाइयो।

सम्मान ग्रहणपछि सञ्चवीर सुब्बाले कार्यक्रमलाई सम्बोधन गरे। आफूले दार्जीलिङमा सम्पन्न भाषा मान्यता दिवस समारोहमा अनुपस्थित रहेर पाइलालाइन बस्तीमा भएको कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै सुब्बाले भने, हामीले सञ्चालन गरिरहेको व्यवस्था अहिले लथालिङ्ग छ। यसलाई व्यवस्थित गर्न सकिन्छ। यसको निम्ति सबै दलको सकारात्मक सुझाउ र सहयोग चाहिन्छ। उनले थपे, पहाड हामी सबैको हो।यसलाई व्यवस्थित बनाउनु हाम्रो साझा कर्तव्य हो। सम्बोधनको क्रममा सुब्बाले जीटीएको भाषा नै नेपाली भाषा रहेको पनि बताए।कार्यक्रममा स्थानीय मानिसहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।