भद्रपुर: नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म २५ वटा स्थानीय तहमा किसान सूचीकरणको कार्य सम्पन्न गरेको छ। पछिल्लो तथ्याङ्क अनुसार कृषि मन्त्रालयले १९ लाख २४ हजार किसान सूचीकृत भइसकेका छन्। त्यसमध्ये २५ वटा स्थानीय तहले पूर्णता पाएको कृषि मन्त्रालयले जनाएको छ। कृषि मन्त्रालयका अनुसार सेप्टेम्बर सम्म २१ लाख किसानको सूचीकरण गर्ने लक्ष्य रहेको छ। कृषि गणना २०२१ अनुसार कुल किसान घरधुरी सङ्ख्या ४१ लाख ३० हजार रहेका छन्।
कृषि मन्त्रालयका तथ्याङ्क अनुसार सबभन्दा बढी कोशी प्रदेशमा चार लाख एक हजार ८८६ किसान सूचीकृत भइसकेका छन् भने मधेश प्रदेशमा तीन लाख १६ हजार ९५० किसान सूचीकृत भएका छन्। बागमती प्रदेशमा दुई लाख ९३ हजार ९१, गण्डकी प्रदेशमा एक लाख ९४ हजार ६८४, लुम्बिनी प्रदेशमा तीन लाख ३६ हजार ४२१, कर्णाली प्रदेशमा एक लाख ८० हजार ६३७ र सुदूरपश्चिम प्रदेशमा दुई लाख ३३३ किसान सूचीकृत भइसकेको कृषि मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीका अनुसार सूचीकरण सम्पन्न भइसकेका स्थानीय तहमध्ये पाँच वटामा सैप्टेम्बर सम्म परिचयपत्र वितरण गरी परीक्षण गरिने छ। परीक्षणबाट आएको परिणामका आधारमा वर्गीकरणको कामलाई अगाडि बढाउने कृषि मन्त्रालयको तयारी छ।
चालु आर्थिक वर्ष २०२३/२०२४ मा किसान सूचीकरण ३० लाख पुर्याउने लक्ष्य कृषि मन्त्रालयले लिएको छ भने आव २०२४/२०२५ भित्र सबै किसानको सूचीकरण कार्य सम्पन्न गरी वर्गीकरणसहितको परिचयपत्र उपलब्ध गराउँदै कृषि विकासका कार्यक्रममा परिचयपत्र नम्बर अनिवार्य गर्ने कृषि मन्त्रालयले जनाएको छ।
परिचयपत्रमा दिएको क्युआर कोडले काम गर्छ कि गर्दैन, परिचयपत्रमा उल्लेख १३ अङ्कको नम्बरले प्रणाली अनुसार काम गर्छ कि गर्दैन, किसानले त्यो परिचयपत्रका आधारमा सुविधा पाउन सक्छ कि सक्दैन जस्ता कुराको परीक्षण गरेपछि मात्र देशभर लागु गर्ने कृषि मन्त्रालयका सहसचिव प्रकाश सञ्जेलले बताए । किसान परिचयपत्र लागु गर्नका लागि किसान सूचीकरण सञ्चालन तथा व्यवस्थापन निर्देशिका संशोधनको कार्य भइरहेको छ।
एउटा किसानको सम्पूर्ण विवरण सरकारले सङ्कलन गरेर किसानको तह निर्धारण गर्ने छ। सोही तह अनुसार किसानलाई सुविधा दिनुका साथै कृषिको योजना तथा कार्यक्रम तयार गर्ने कृषि मन्त्रालयले जनाएको छ। किसानको विवरण तयार गरी पहिचान दिइसकेपछि ती किसानलाई परिचयपत्र उपलब्ध गराउने छ। सो परिचयपत्रका आधारमा सरकारबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधा दिइने मन्त्रालयले जनाएको छ।
किसानले परिचयपत्र पाइसकेपछि खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली, २०२३ को दफा १७ को उपदफा (१) अनुसार किसानलाई सङ्घ, प्रदेश तथा स्थानीय तहबाट दोहोरो नपर्ने गरी कृषि उत्पादन, पूर्वाधार निर्माण, मल, बिउ, उपकरण जस्ता उत्पादन सामग्री वा बिमा प्रिमियममा सहुलियत, छुट, सुविधा तथा अनुदान उपलब्ध गराउने छ। यसरी सहुलियत, छुट, सुविधा तथा अनुदान उपलब्ध गराउँदा भूमिहीन, सीमान्तकृत, निर्वाहमुखी दलित, लोपोन्मुख आदिवासी तथा महिला किसानलाई विशेष प्राथमिकता दिनुपर्ने नियमावलीमा उल्लेख छ।
सहुलियत, छुट, सुविधा तथा अनुदान रकमको दुरुपयोग गर्ने, झुटा विवरण तयार गरी अनुदान लिने दिने व्यक्ति वा संस्थाको अभिलेख राख्ने र भविष्यमा त्यस्ता व्यक्ति वा संस्थालाई सेवा, सुविधा, अनुदानबाट वञ्चित गर्ने तथा अनुदानको रकम शोधभर्ना गराउने नियमावलीमा उल्लेख छ।
किसान परिचयपत्रको विवरण सङ्कलन गरिसकेपछि प्रणालीमा सम्बन्धित किसानको व्यक्तिगत खाता पनि सिर्जना गरिने छ र सो खाताका आधारमा किसानलाई सङ्केत नम्बर दिइने छ। परिचयपत्र प्राप्त गरिसकेपछि वा प्रमाणीकरण हुने किसानले एकभन्दा बढी स्थानीय तहमा कृषि कार्य सञ्चालन गरेको भएमा कुनै एक स्थानीय तहमा मात्र सूचीकृत हुन पाउने छन् तर विवरण सम्बन्धित स्थानीय तहको अभिलेखमा राख्न सकिने व्यवस्था मन्त्रालयले गरेको छ। कृषिसम्बन्धी व्यवसायमा क्रियाशील समूह, सहकारी, निजी फार्म र कम्पनीले समेत प्रणालीमा आबद्ध हुन सक्ने व्यवस्था गरिएको छ।
प्रणालीमा सूचीकरण भएका व्यक्ति वा संस्थागत विवरण सम्बन्धित किसान तथा संस्था, सम्बन्धित स्थानीय तह, सम्बन्धित प्रदेश मन्त्रालयले तोकेको निकाय तथा मन्त्रालयले तोकेको निकायले मात्र हेर्ने पाउने छन्।
सङ्घ, प्रदेश वा स्थानीय तहका परिचयपत्र प्राप्त गरेका किसानले पाएको सेवा, सुविधा, सहुलियत एवं अनुदानसम्बन्धी विवरण राख्न मिल्ने गरी प्रणाली सञ्चालन गरिने छ र सो विवरण सम्बन्धित किसानको खातामा समेत अद्यावधिक हुने जनाइएको छ। मन्त्रालयले देशभरिका, प्रदेशले सम्बन्धित प्रदेश र र स्थानीय तहले सम्बन्धित पालिका अन्तर्गतका किसान र उनीहरूलाई उपलब्ध हुने सेवा सुविधाको विवरण अद्यावधिक गरी अभिलेख व्यवस्थित गरेर राख्नुपर्ने छ।
किसान सूचीकरणसम्बन्धी कार्य सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा उच्चस्तरीय समन्वय तथा निर्देशनका लागि अध्यक्ष र सदस्यहरू रहने किसान सूचीकरण कार्यक्रम निर्देशक समिति पनि गठन हुने मन्त्रालयले जनाएको छ।