भद्रपुर: मोरंगको विराटनगर महानगरपालिका-४ स्थित एउटा मिलमा करेन्ट लागेर मिल सञ्चालकको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले विराटनगर-४ इक्राहीका ५२ वर्षीय अवधनारायण मोदीको मृत्यु भएको जानकारी दिए।
मोदीलाई आफ्नै धान कुट्ने मिलमा करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा फेला पारिएको उनको भनाइ छ। धान कुट्न गएकाहरूले मिलमै लडिरहेको देखेर परिवारका सदस्यलाई खबर गरेका थिए। गम्भीर घाइते अवस्थाका मोदीलाई तत्काल उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्। डीएसपी बस्नेतका अनुसार मिलको बल्ब परिवर्तन गर्ने क्रममा मोदीलाई करेन्ट लागेको पाइएको छ। घटनाको अनुसन्धान सुरू गरिएको उनको भनाइ छ।