भद्रपुर: जिल्ला कारागार मोरङका १ जना कैदीको उपचाररत अस्पतालमै रविबार बिहान मृत्यु भएको छ।
मोरङको बेलबारी नगरपालिका-४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको विराटनगरस्थित कोशी अस्पतालमा बिहान ११ः४५ बजेतिर मृत्यु भएको हो। खुट्टा सुन्निने र मुटुमा समस्या देखिएका कारण उनलाई उपचारका लागि सेप्टेम्बर ५ मा अस्पताल भर्ना गरिएको थियो।
मोटरसाइकल चोरीका विभिन्न घटनामा संलग्न तामाङको उपचाररत अवस्थामै मृत्यु भएको कारागारका जेलर चेतनाथ बरालले बताए। स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमांडू लैजाने तयारी भइरहेको थियो। तर, थप उपचार नपाउँदै तामाङको ज्यान गएको जेलर बरालको भनाइ छ।
उनका अनुसार परिवारका सदस्य सम्पर्कमा आइसकेका कारण शव जिम्मा लगाउने तयारी भइरहेको छ। विभिन्न ठाउँमा मोटरसाइकल चोरीमा संलग्न तामाङविरुद्ध ५ वटा जिल्लामा चोरी मुद्दा चलेको छ। मोरङमा मात्रै २ वटा मुद्दा छन्। एउटा मुद्दाको फैसला भइसकेको छ भने अर्को विचाराधीन नै छ।
मोरङबाहेक झापा, सुनसरी, इलाम र धनकुटामा मुद्दा रहेको हो। जेलर बरालका अनुसार मोरङमा रहेको एउटा मुद्दामा जिल्ला अदालतले ४ महिना कैद र १५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो।
अर्को मुद्दामा १ लाख रुपैयाँ धरौटी माग भएको थियो। धरौटीबापतको रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको हो। बरालका अनुसार तामाङ २०२३ फरबरी ४ देखि मोरङ कारागारमा थिए।उनीसँग चोरी मुद्दामै धनकुटा अदालतबाट धरौटीबापत ३ लाख ५० हजार र सुनसरी अदालतबाट २ लाख रुपैयाँ माग भएको थियो। दुवै अदालतले मागेको धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भए। धरौटी रकम जम्मा गर्न नसकेपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको जेलर बरालको भनाइ छ।
तामाङविरुद्ध झापा र इलाम अदालतमा पनि चोरी मुद्दा छन्। दुवै अदालतले उपस्थित गराउन आदेश दिइसकेका थिए। उपस्थित गराउन नपाउँदै र विभिन्न अदालतमा रहेका मुद्दाको छिनोफानो नभईकन तामाङको मृत्यु भएको बराल बताउँछन्।उनका अनुसार जिल्ला कारागार मोरङमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी छन्। जसका कारण कारागारभित्र कैदी बन्दीको दैनिकी निक्कै कष्टकर बनिरहेको छ। उनीहरूलाई खाने, बस्ने र सुत्ने ठाउँको सङ्कट भइरहेको छ।
जेलर बरालले कारागारमा हाल ४ नाबालक र ९७ महिलासहित १ हजार ५९ जना कैदीबन्दी रहेको जानकारी दिए। उनका अनुसार क्षमताभन्दा बढी राख्नु परेका कारण कैदी बन्दीले ठाउँ अभावको सामना गर्नु परिरहेको छ।