गान्तोक: सिक्किमको उर्वर कृषि भूमिमा पसिना बगाए सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् पश्चिम सिक्किमको योकसम निवासी बुद्धहाङ लिम्बू। उनले २००९ देखि आफ्नो निजी जमिनमा किवी खेती शुरु गरेका थिए। सिक्किम सरकारको बागवानी विभागले दिएको चारवटा बिरुवाबाट किवी खेती शुरु गरेका सुब्बाले आज ‘किवी म्यान अफ् सिक्किम’-को उपाधि प्राप्त गरिसकेका छन्। उनले उब्जाएको किवीले आज सिक्किमसँगै दिल्ली, मुम्बई र बेङ्गलुरुको बजार कब्जा गरिसकेको छ। चारवटा बिरुवाबाट किवी खेती शुरु गरेका सुब्बाको जमिनमा अहिले चारैतिर किवी नै किवी मात्र छन्। अहिले उनको किवी खेती हेर्न पर्यटकहरूले प्रतिव्यक्ति २० रुपियाँ गरेर शुल्क पनि तिर्नुपर्दछ भने दैनिक रूपमा सयौँको सङ्ख्यामा विद्यार्थीहरू किवी खेतीको अध्ययन गर्न उनको बारीमा आउने गरेको सुब्बा बताउँछन्। योकसमको बुद्ध अर्ग्यानिक किवी गार्डन नामले प्रसिद्ध उनको किवीबारीमा सिक्किमका विभिन्न विद्यालयका विद्यार्थीहरूसँगै देशका विभिन्न प्रान्तबाट अनुसन्धानकर्ताहरू आउने गर्दछन्। योक्सम यसै पनि पर्यटकको आकर्षणको केन्द्रबिन्दु भएकोले गर्दा यहाँ आउने पर्यटकहरूको एउटा गन्तव्य उनको किवीबारी पनि भएको छ। उनको सफलता देखेर अहिले योकसमका २९ परिवारले पनि किवी खेती व्यावसायिक रूपमा शुरु गरेको सुब्बाको भनाइ रहेको छ।
सुब्बाले ५०० प्रतिकिलो गरेर किवी बिक्री गर्दैछन् भने किवीबाटै उनले लाखौँ रुपियाँ आम्दानी पनि गर्दैछन्। उनले थप जनाएअनुसार देशका विभिन्न बजारहरूबाट अहिले उनलाई किवीको माग आउन थालेको छ। तर, उनले बजारमा भनेजस्तो किवी निर्यात गर्न नसकेको बताउँदै योकसमका स्थानीयवासीहरूलाई आफूसँगै किवी खेतीमा जोड़ेर यो मागलाई पूरा गर्ने तर्खर गरेको बताए।