गान्तोक: एसकेएम नारी शक्तिको तत्वावधानमा आयोजित राज्य स्तरीय सामुहिक तीज उत्सव २०२४-लाई लक्षित गर्दै आयोजित राज्य स्तरीय सामुहिक तीज नृत्य प्रतियोगितामा जङ्गु समष्टि बिजेता बनेको छ। यसरी नै दोस्रो स्थानमा स्यारी समष्टि र तेस्रो स्थान याङथाङ समष्टिले प्राप्त गर्न सफल बने। जिल्ला स्तरीय सामुहिक तीज नृत्य प्रतियोगिताबाट विजेता बनेका 6 वटा समष्टिले आज सरमसा गार्डनमा सम्पन्न प्रतियोगितामा प्रस्तुति दिएका थिए। राज्य स्तरीय उक्त सामुहिक तीज नृत्य प्रतियोगिताको फाइनलमा पुगेका अन्य तीनवटा समष्टि छुजाचेन, राङगाङ-याङगाङ र सोरेङ-च्याखुङले सान्त्वना पुरस्कार प्राप्त गरे। उल्लेख, सोरेङ जिल्लाबाट सोरेङ-च्याखुङ समष्टि, गेजिङ जिल्लाबाट याङथाङ समष्टि, नाम्ची जिल्लाबाट राङगाङ-याङगाङ समष्टि, पाकिम जिल्लाबाट छुजाचेन समष्टि, गान्तोक जिल्लाबाट स्यारी समष्टि र मंगन जिल्लाबाट जङ्गु समष्टिले आ-आफ्नो जिल्लाका अन्य समष्टिहरुलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। प्रतियोगितामा राज्यका ३१ वटा समष्टिले सहभागिता जनाएका थिए। राज्य स्तरीय सामुहिक तीज उत्सवको अवसरमा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सामुहिक तीज नृत्य प्रतियोगितामा प्रथम बन्न सफल जङ्गु समष्टिलाई १० लाख रुपियाँ, दोस्रो स्यारी समष्टिलाई ७ लाख रुपियाँ र तेस्रो याङथाङ समष्टिलाई ५ लाख रुपियाँ पुरस्कार स्वरुप प्रदान गरेका छन्। यसरी नै जिल्लाबाट विजयी हासिल गरी फाइनलमा स्थान बनाउन सफल सोरेङ-च्याखुङ, राङगाङ-याङगाङ र छुजाचेन समष्टिलाई पनि मुख्यमन्त्री तामाङले सान्त्वना पुरस्कार स्वरूप नगद राशि प्रदान गरे। फाइनलमा स्थान बनाउन असफल रहल राज्यका सबै २५ वटै समष्टिलाई पनि मुख्यमन्त्री तामाङको बाहुलीबाट नगद राशि प्रदान गरिएको छ।