डा. अमीर दर्जीद्वारा लिखित दुईवटा पुस्तकहरू तीनधारेको सम्पत्ति हो: डा. कृष्णराज घतानी
खरसाङ: प्राध्यापक डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू क्रमैले ‘तीनधारेमा नेपाली नाटक’ अनि ‘विविध वृतहरूमा तीनधारे’ एक कार्यक्रमबीच तीनधारेमा लोकार्पण गरिएको छ। तीनधरेको महात्मा गाँधी हलमा सम्पन्न उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ कवि विचन्द्र प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा डा कृष्णराज घतानी उपस्थित रहेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट माता सरस्वतीको तस्वीरमा धुप दिप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण साहित्य कला संस्थानको अध्यक्ष रञ्जनकुमार रसाईलीले राखेका थिए। कार्यक्रमको शुरुमा साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको स्मरणमा मौन धारण गरिएको थियो भने बरूण रसाईलीद्वारा सरस्वती बन्दना प्रस्तुत गरिएको थियो। साहित्य कला संस्थान तीनधारेको मूल सचिव सन्तोष लामाले सञ्चालन गरेको कार्यक्रममा प्राध्यापक डा. रेमिका थापा र वरिष्ठ साहित्यकार विन्ध्या सुब्बाले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा तीनधारेका सुपुत्र एंव मालबजार परिमल स्मृति महाविद्यालयको प्राध्यापक डा अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू क्रमैले ‘तीनधारेमा नेपाली नाटक’ र ‘विविध वृतहरूमा तीनधारे, लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण गरिएको घोषणा सभाध्यक्ष वरिष्ठ कवि विचन्द्र प्रधानले गरेका थिए। त्यसरी नै पुस्तकमाथि साथै लेखकको परिचय उत्तम शर्माले राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि डा कृष्णराज घतानीले आफ्नो सम्बोधनमा डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू गुणस्तरीय र शोधकर्ताहरूका लागि उत्तम सन्दर्भ ग्रन्थ हुनसक्ने बताएका छन्। उनले आफ्नो सम्बोधनमा दुईवटा पुस्तकहरू दिएकोमा जा अमीरप्रति आभारी छौं भन्दै आफ्नो छत्रछाँयामा पहिलो डीएचडी गर्ने व्यक्ति डा. अमीर दर्जी रहेको बताएका छन्। डा. कृष्णराज घतानीले भने-, नाटक लेख्नु सजिलो छैन, नाटकको लागि ठूलो भिजन चाहिन्छ, अन्तर्दृष्टि चाहिन्छ। नाटकले कविता, कथा, निबन्ध, उपन्यास आदि समावेस गर्नसक्छ।’
उनले अघि भने, भारतीय नेपाली नाटकको इतिहास लेखिनुपर्छ, धेरै नाटकहरू प्रकाशित हुनुपर्छ। डा. अमीरद्वारा तीनधारेको नाटक विषयमा लेखिएको ये पुस्तक भारतीय नेपाली नाटकको इतिहास लेख्नमा सहयोग गर्नेछ भन्ने आशा छ। यो कृति उत्कृष्ट भएको छ। नाटक लेख्ने स्रष्टाको दृष्टि चेतना व्यापक हुनुपर्छ।’
डा. घतानीले डा. अमीर दर्जीद्वारा लिखित पुस्तकको भाषा मर्यादित र प्राज्ञ रहेको अनि विशिष्ट रहेको बताएका छन्। उनले डा. अमीर दर्जीद्वारा लिखित दुईवटा अनुसन्धानमूलक पुस्तकहरू तीनधारेको सम्पत्ति हो र भारतीय नेपाली साहित्यको एक भाग हो भनी बताएका छन्।

कार्यक्रममा लेखक डा. अमीर दर्जीलाई उपस्थित मानिसहरूले सम्मान जनाएका थिए भने उनले आफ्नो सम्बोधनमा सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन बिनयकुमार छेत्रीले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सभासद नवराज छेत्री, प्राध्यापक डा. योगेस खाती, डा. नरेशचन्द्र खाती, मिलन रुचाल, युवराज काँफ्ले, केएस दर्नाल, पूर्व विधायक तुलसी भट्टराई लगायत डा. अमीर दर्जीका परिवारका सदस्यहरू उपस्थित रहेका थिए।