न्यूयोर्क: बेलारुसकी आर्यना सबालेंकाले सालको अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको खिताब जितिन्। शनिवार अबेर राति खेलिएको महिला एकलको फाइनलमा दोस्रो वरीयता प्राप्त सबालेंकाले छैटौं वरीयता प्राप्त अमेरिकाकी खेलाड़ी जेसिका पगुलालाई सीधा सेटमा ७-५, ७-५-ले पराजित गरिन्। यो उनको यूएस ओपनमा पहिलो खिताब हो। यसरी समग्रमा यो सबालेंकाको तेस्रो ग्राण्ड स्ल्याम खिताब हो। यसअघि उनले २०२३ र २०२४-मा अष्ट्रेलियन ओपनको खिताब जितेकी थिइन्। यसबाहेक उनी २०२१ र २०२३-मा विम्बल्डन र २०२३-मा फ्रेञ्च ओपनको सेमिफाइनलमा पुगेकी थिइन्। उनी अहिले वर्ल्ड ऱ्याङकिंगमा दोस्रो स्थानमा रहेकी छन्। म्याचको दोस्रो सेटमा स्थानीय खेलाड़ी पेगुला एक समय ३-०-ले अघि रहेकी थिइन् अनि उनले बढ़तलाई ५-३-सम्म पुऱ्याएकी थिइन्।यसरी उनी सेट जित्ने संघारमा पुगेकी थिइन् तर सबालेंकाले पनि असाधारण पुनरागमन गर्दै ७-५-ले दोस्रो सेटसहित म्याच जितिन्। बेलारुसकी २६ वर्षीय खेलाड़ी सबालेंकाले म्याचमा जम्मा ४० वटा विनर्स लगाइन्। यसरी सबालेंका २०१६-मा एञ्जेलिक कर्बरपछि एउटै सीजनमा दुईवटा हार्डकोर्ट मेजर जित्ने पहिलो महिला खेलाड़ी बनिन्। सबालेंकाले गत वर्ष यूएस ओपनको फाइनलमा कोको गौफविरुद्ध हारको सामना गर्नु परेकी थियो।
महिला एकलको फाइनल म्याचको निम्ति कोर्टमा लगभग २३ हजार दर्शक उपस्थित थिए। यसमा पेरिस ओलम्पिकमा १०० मीटरको दौड़मा स्वर्ण पदक जित्ने नोआ लायल्स, एनबीए स्टार स्टीफ करी र पूर्व फर्मूला वन् वर्ल्ड च्याम्पियन लुईस हेमिल्टन जस्ता दिग्गज सामेल थिए। कोर्टमा उपस्थित अधिकांश दर्शकले नै पेगुलालाई समर्थन गरिरहेका थिए तर ३० वर्षीय खेलाड़ीलाई सबालेंकाको शक्तिशाली सर्विस र रिटर्न अघि असहाय देखियो। सबालेंकाले खिताब जितेपछि अर्थर ऐश स्टेडियममा उपस्थित दर्शकहरूले उभिएर ताली बजाए। पेगुलाले फाइनलसम्मको यात्रामा विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकलाई पराजित गरी सबैभन्दा ठूलो उलटफेर गरेकी थिइन्।