मकड्रीलको निम्ति अगावै स्थलको निरीक्षण गर्नुपर्ने जिल्लापालको निर्देश

IMG-20240907-WA0330

सोरेङ: सोरेङका जिल्लापाल धिराज सुवेदीको अध्यक्षतामा आज प्रशासनले जिल्ला घटना प्रतिक्रिया टोलीलाई लिएर आगामी दिनमा पालन गरिने दुई दिवसीय मकड्रीलबारे जानकारी गराइयो। जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा आयोजित कार्यक्रममा अतिरिक्त जिल्लापाल डीआर विष्ट, महकुमा अधिकारी (कार्यालय) पीके सुब्बा लगायत अन्य अधिकारीहरूले पनि अंशग्रहण गरेका थिए। विशेष गरेर भूकम्पको समयमा मानिसहरूलाई कसरी सुरक्षित उद्धार गर्न सकिन्छ भन्ने विषयमा आगामी १२ सेप्टेम्बरको दिन राज्यको सबै जिल्लामा मकड्रील आयोजना गरिने भएको छ भने सोही तयारीलाई लिएर आज कार्यक्रम आयोजना गरिएको हो। सो कार्यक्रम सोरेङ जिल्लाको रोहतक डान्स एनर्जी ड्यामसाइट क्षेत्र, जेएनभी रोहकत, एनडीपी रोड, मंगलबारिया बजार, बुढियाखोप वरिष्ठ माध्यमिक विद्यालय,डन बस्को स्कूल, सोरेङ सीएचसी र इञ्जिनियरिङ कम्पलेक्समा आयोजना गरिने जानकारी गराइयो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापालले आपतकालीन प्रबन्धन योजना विशेष गरी विद्यालयहरूको लागि भविष्यमा कुनै पनि प्राकृतिक प्रकोपको लागि तयारी गर्ने महत्त्वमाथि जोड दिए। मकड्रीलको निम्ति आइआरबीका जवानहरूलाई मकड्रील गरिने स्थानहरूको अगावै भ्रमण गर्न निर्देशन दिए। मक ड्रिलमा जिल्ला कार्यदल र पञ्चायतलाई समेत संलग्न गराउने संस्थालाई जानकारी गरायो। जिल्लापालले घटना प्रतिक्रिया टोलीको प्रभावकारिता परीक्षण गर्न वास्तविक भूकम्प परिदृश्य बनाउन सुझाव दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement