क्यापले १४ सेप्टेम्बरमा घोषणा गर्ने नयाँ अध्यक्षको नाम

IMG-20240907-WA0329

गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किमको कार्यकारी समितिको बैठक आज पूर्व सिक्किमको अदमपूलमा बस्यो। बैठकलाई अध्यक्ष भरत बस्नेतले अध्यक्षता गरेका थिए। केन्द्रीय कार्यकारी समितिका सबै सदस्यहरूको साथमा पार्टीका प्रमुख समन्वयक गणेश राई र संस्थापक अध्यक्ष एलपी काफ्लेको विशेष उपस्थिति रहेको थियो। बैठकमा विभिन्न महत्वपूर्ण विषयमा चर्चा अनि छलफल भएको पार्टीले प्रेस विज्ञप्ती जारी गरी बताइएको छ। बैठकमा गत विधानसभा अनि लोकसभा चुनाउको लगतै पार्टी अध्यक्ष भरत बस्नेतले पदबाट दिएको राजीनामा बारेमा पनि चर्चा भयो। उल्लेखनीय छ, अध्यक्ष बस्नेतले चुनाउमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए। तर, पार्टीले उनको राजीनामालाई तत्काल स्वीकार नगरेर केन्द्रीय कार्यकारी समितिको बैठक नबसेसम्म थाँतीमा राखेको थियो। भरत बस्नेतले अध्यक्षको रुपमा पार्टीको संविधानको धारा २७को उपधारा डी-को दुईले आफूलाई प्रदान गरेको अधिकारको प्रयोग गर्दै नयाँ अध्यक्षको निम्ति तीनजनाको नाम प्रस्तावित गरे। अध्यक्षद्वारा प्रस्तावित नामहरूबाट नयाँ अध्यक्षको नाम आगामी १४ सेप्टेम्बरको दिन चयन अनि घोषणा गरिने पार्टीका प्रमुख निर्वाचन अधिकारी एचबी राईले बैठकमा जानकारी गराए।
बैठकमा खुल्ला बहस सत्र पनि आयोजना गरिएको थियो जसमा उपस्थित सदस्यहरूले सक्रिय सहभागिता जनाउँदै विभिन्न सुझाउहरू राखे। बैठकलाई सम्बोधन गर्दै प्रमुख समन्वयक गणेश राईले सिक्किम र सिक्किमेको हितमा पार्टीका सबै कार्यकर्ता मिलेर काम गर्नुपर्ने कुरामा जोर दिए। यसरी नै अध्यक्ष भरत बस्नेतले पार्टीलाई अघि बड़ाउन सबै नेता अनि कार्यकर्ताले पार्टीको संविधान र नीतिअनुसार अनुशासित भएर काम गर्नुपर्ने कुरामा जोर दिए। सिटिजन एक्शन पार्टी, सिक्किम बाहेक राज्यमा अहिले अन्य कुनै विपक्षी पार्टी नभएकोले आफूहरूको जिम्मेवारी बड़ेको पनि उनले थप बताए। बैठकमा पार्टीको पत्रिका “कार्यकर्ता मार्गदर्शन” को विमोचन पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement