काठमाडौं: नेपाली कांग्रेसका नेता तथा समाजवादी विचारधाराका चिन्तक प्रदीप गिरीको निधनले राजनैतिक साथै सामाजिक क्षेत्रमा धेरैलाई दुःखी बनाएको छ। उपचारका क्रममा ललितपुरको मेटिसिटी अस्पतालमा शनिबार बेलुकी गिरीको निधन भएको हो। उनको निधनको समाचार फैलिन साथ उनलाई श्रद्धाञ्जली दिनेहरुको भीड लागिरहेको छ। उनको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत देशका विभिन्न राजनीतिक दलका नेताहरु र सर्वसाधारणले शोक व्यक्त गरेका छन्। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।
७५ वर्षको उमेरमा शनिबार राति ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्नका लागि विभिन्र दलका नेता कार्यकर्तालगायत शुभेच्छुक सानेपा पुगेका हुन्। यसअघि गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालयमा राखिएको थियो। जहाँ पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेताहरु शेखर कोइराला‚ रामचन्द्र पौडेल, अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो लगायतले गिरीको पार्थिव शरीरमा माल्यार्पण गरेका थिए। आइतबार पूर्व राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री जनार्दन शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, कांग्रेसका महामन्त्री गगन थापालगायत नेता ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुगेका थिए।
गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकको भीड लागेको थियो। त्यसैगरी गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदय शमशेर राणालगायतले अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गरिसकेका छन्। प्रतिनिधि सभाका सांसदसमेत रहेका नेता गिरी लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका गिरी २५ जुलाईमा मेडिसिटी अस्पताल भर्ना भएका थिए।
गिरीको जन्म सिरहा जिल्लाको बस्तीपुर गाउँ (हाल लहान न.पा–१४) मा वि.सं.२००२ (सन् १९४५) मा लक्ष्मीपूजाका दिन भएको थियो। उनी पिता मित्रलाल गिरीका छोरा तथा पूर्वप्रधानमन्त्री तुलसी गिरी र पूर्वमन्त्री रुद्रप्रसाद गिरीका भतिजा हुन्। सानैदेखि तीक्ष्ण बुद्धि र मेधावी छात्रको रूपमा परिचित गिरीको परिचय राजनीतिज्ञसँगै अध्येता र विचारकको रूपमा रहेको थियो। अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उनले लेखेका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।