मोकी (चीन): भारतीय पुरुष हकी टीम पेरिस ओलम्पिकमा काँस्य पदक जितेको लगत्तै पछि ८ सेप्टेम्बरदेखि यहाँ शुरु हुने हीरो एशियन च्याम्पियन्स ट्रफीमा चुनौती पेश गर्न तयार रहेको छ। मोकी हकी ट्रेनिंग बेसमा शुरु हुने प्रतियोगितामा वर्तमान च्याम्पियन भारतले ट्रफी जित्ने प्रबल दावेदारको रूपमा शुरुवात गर्नेछ। भारतको साथमा टुर्नामेण्टमा आयोजक चीन, जापान, पाकिस्तान, दक्षिण कोरिया र मलेशियाले पनि हिस्सा लिनेछ। गत वर्ष भारतले घरेलु मैदानमा च्याम्पियन्स ट्रफीको खिताब जितेको थियो। यसरी भारत टुर्नामेण्टको इतिहासमा ४ पल्ट खिताब जित्ने एकमात्र टीम बनेको थियो। टीमका कप्तान हरमनप्रीत सिंह यस साल पनि महाद्वीपीय च्याम्पियनशीपमा खिताब जित्ने विषयमा आशावादी छन्। उनले भने, गत वर्ष च्याम्पियन्स ट्रफीमा हामीले एशियन गेम्समा जानको निम्ति सही शुरुवात हासिल गरेका थियौं अनि त्यसपछि हामीले ओलम्पिक खेलहरूमा पनि काँस्य पदक जित्यौं। यसपाली पनि हामी यस टुर्नामेण्टलाई जितेर आउँदो ओलम्पिक चक्रको शुरुवात गर्न चाहन्छौं। हाम्रो टीममा ओलम्पिक खेल्ने सदस्यहरूका साथमा केही युवा खेलाड़ीहरू पनि रहेका छन्। यसरी टीम सन्तुलित छ। भारतले आफ्नो अभियानको शुरुवात आइतवार आयोजक चीनविरुद्ध म्याचको साथ गर्नेछ। त्यसपछि ९ सेप्टेम्बरमा जापान, ११ सेप्टेम्बरमा गत सालको उपविजेता मलेशिया, १२ सेप्टेम्बरमा दक्षिण कोरिया र १४ सेप्टेम्बरमा चीरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध म्याच रहेको छ। टुर्नामेण्टको सेमिफाइनल १६ सेप्टेम्बर र फाइनल १७ सेप्टेम्बरमा खेलिनेछ।









