श्रमिकहरूको जीत भएको श्रमिक सङ्गठनहरूको दावी
खरसाङ: खरसाङको लङ्भ्यू चिया बगानका श्रमिकहरूको लामो सङ्घर्षपछि अन्ततः बगानका मालिक पक्षले तिनीहरूको माग पूरा गर्ने सहमति जनाएको छ। यसपल्ट सिलगढीस्थित डागापूरमा बगानका मालिकपक्ष, श्रमिक सङ्गठनहरू अनि प्रशासनिक अधिकारीहरूमाझ बसेको त्रिपक्षीय वार्तामा मालिकपक्षले श्रमिक तथा श्रमिक संगठनहरूको मागलाई मानिलिँदै श्रमिकहरूको बकाया राशि भुक्तान गर्ने वचन दिएका छन्। सात घण्टाको लामो बैठकपछि मालिक पक्षले पुरानो एरिएर २०२२-२३, गत वर्षको बाँकी रहेको बोनसको पैसा, श्रमिकहरूको हाजिरा, स्टाफहरूको तलबलाई सम्पूर्ण रूपले भुक्तान गर्नुपर्ने साथै ग्राजुएटीको पैसाको ७४ लाख सेप्टेम्बर महिनाभित्र अनि रहल १.२६ करोड किस्ती गरेर दिसम्बर महिनाभित्रमा तिरिसक्नु पर्ने भन्ने निष्कर्षमा आएर सम्झौता भएको छ। उक्त सम्झौता अनुसार ५८ वर्ष नाघिसकेका श्रमिकहरूलाई अवकाश दिएर उनीहरूको ज्यालाबाट गैर कानुनी ढङ्गले काटिँदै गरेको पीएफको तीस रूपियाँ पनि काट्न बन्द गर्नु पर्ने निर्देशन एडिसनल लेबर कमिसनरले दिएका छन्। यसका साथै पीएफको मुद्दामा लेबर अफिसले हस्तक्षेप गर्न नस्कने बताउँदै यसको निम्ति पीएफ अफिसमा पहल गर्नुपर्ने औ पीएफको पन्ध्र करोड निकास गर्नको निम्ति आफ्नो तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग गर्ने पनि एडिसनल लेबर कमिसरले जनाए। सोही अनुरूप पीएफ लिएर युनियनको पीएफ अफिसमा आगामी विशेष पहल रहने जनाइयो। यो सम्झौतालाई लिएर हिल प्लान्टेशन इम्प्लोइज युनियन, भागोप्रमोको श्रमिक सङ्गठन हिल तराई प्लान्टेशन वकर्स युनियन, गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्लुयु, गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन आदिले प्रसन्नता व्यक्त गर्दै यो जीत श्रमिकको जीत रहेको जनाएका छन्। गोजमुमो श्रमिक सङ्गठनको पक्षबाट हमिङ तामाङले लंगभ्यू चिया बगानमा लगातार अठाह्र दिनसम्म चलेको धर्ना जुलुस शुक्रवारको बैठकमा आएर सफल भएको जनाएका छन्। उनले यस बैठक सफल हुनु श्रमिकहरुको जीत हो भनी जनाउँदै श्रमिकहरुको एकताको विजय भएको बताएका छन्। तामाङले यसको निम्ति सम्पूर्ण मिडियाकर्मी, संघ संस्था, पुलिस प्रशासन, श्रमिक संगठनहरु, श्रमिक तथा कर्मचारीहरू, सम्बन्धित विभाग लगायत सबै शुभचिन्तक हरूलाई धन्यवाद दिएका छन्। उनले बगानको श्रमिक तथा कर्मचारीहरुलाई कार्य संस्कृतिमा सुधार ल्याउने अनुरोध गर्दै लंगभ्यू चिया बगानको बिभिन्न समस्याहरू लिएर श्रमिक भवनमा बसिएको यो दशौं बैठक रहेको जनाए औ प्रत्येक बैठकमा भएको सम्झौता मालिक पक्षले उल्लङ्घन गरेका छन् भन्दै यो सम्झौता पनि मालिक पक्षले उल्लङ्घन गर्दैन भन्न सकिन्न भनी बताए। तामाङले श्रमिकहरुको हक र अधिकारको निम्ति डीटीडीपीएलयू सँधै अघि आएर काम गरी दिने प्रतिबद्धता व्यक्त गरेका छन्। एचपीइयुको पक्षबाट सुमेन्द्र तामाङले यस अघि पनि आठवटा एग्रिमेन्टहरू भएका थिए भन्दै तर पटक पटक मालिकले एग्रिमेन्ट फेल गर्दै आएका थिए भनी जनाए। उनले शुक्रवारको त्रिपक्षीय वार्ता पनि यी एग्रिमेन्टहरूको पर्दाफास गर्दै मालिकको पुनः यस्तो गैर कानूनी नीति स्वीकार नगर्ने मत एचपीइयुद्वारा पहिल्यै राखिएको थियो भन्ने जानकारी दिँदै पुन: मालिक पक्षले एग्रिमेन्ट फेल गरेको खण्डमा श्रमिकहरू अझ वृहत् रूपमा आन्दोलनमा उत्रिने चेतावनी श्रमिकहरूले दिएका छन् भनी जनाए। तामाङले मालिकपक्ष भने बार बार आफ्नो नोक्सानको हिसाब देखाएर त्यसको दोष श्रमिकहरूको काँधमा हाल्न खोज्ने तर्क राख्दै थिए साथै सबै एरियर र ज्यालाको पैसा तिर्नु पर्ने कुरा गर्दा त्यसले यसपालीको बोनसमा धक्का लाग्ने धम्कीपूर्ण वक्तव्य दिँदै थिए। त्यसको विरूद्धमा एचपीइयुद्वारा पुरानो बोनसको बकाया साथै यसपालिको बोनस पनि एकै किस्तिमा तिरेको हुनुपर्छ भन्ने तर्क राखेको थियो भनी जनाए। तिनले पनि यो जीत श्रमिकहरूको जीत हो भनी बताए। यता भागोप्रमोको पक्षबाट मणिराज डुम्जन, सभासद कल्पना प्रधान अनि जीबी तामाङले सम्पूर्ण श्रमिकहरूलाई तिनीहरूले गरेको सङ्घर्ष सफल भएको जनाउँदै तर यसपल्टको सम्झौतालाई पनि मालिकवर्गले अवहेलना गरे भागोप्रमोको श्रमिक सङ्गठन अझ वृहत आन्दोलनमा उत्रिने जनाए। यता गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्ल्युको पक्षबाट बिरेन्द्र छेत्रीले उनीहरू श्रमिकहरूको हक, हित र सुरक्षाको निम्ति सँधै अघि आएर लडिरहेका बताउँदै भविष्यमा पनि यसरी नै लड्ने प्रतिबद्धता व्यक्त गरे। छेत्रीले यो जीतको श्रेय प्रत्येक श्रमिकहरूलाई जाने पनि बताए।









