श्रमिक सङ्घर्षमा घाइते बनेकी सङ्गिता छेत्रीलाई भेट्न लङ्भ्यु पुगे गोर्खाल्याण्ड एक्टिभिस्ट समूह

IMG-20240907-WA0294

तीनधारे: गोर्खाल्याण्ड एक्टीभिष्ट समूहका संयोजक किशोर प्रधानको नेतृत्वमा एउटा टोलीले गत ५ सेप्टेम्बरको दिन लङ्भ्यु चियाकमानमा श्रमिकहरुको आनन्दोलनमा उत्रिइँदा घाइते बनेकी हिमालयन प्लान्टेसन इम्प्लोएज युनियनका सचिव सङ्गिता छेत्रीलाई भेट गरेका छन्। लङ्भ्युस्थित छेत्रीको घरमै पुगेका एक्टिभिस्ट टोलीले घटनाबारे विस्तृत जानकारी लिए भने श्रमिकहरुको हितको निम्ति छेत्रीले जुन साहस अनि हिम्मत देखाएकी छिन् त्यसको सराहना पनि गरेका छन्। भेटको क्रममा अराजनैतिक संगठनको पक्षबाट लङ्भ्यु चियाकमानका श्रमिकहरुले आफ्नो हक र अधिकारको निम्ति उठाएको कदमबाट सत्तापक्ष डराएकै कारण एकजना नारीमाथि हाथापाई भएको र यो नै श्रमिकहरूको पहिलो जीत पनि हो भन्ने समूहका संयोजक किशोर प्रधानले बताए। तथ्य, सांगठनिक शक्ति अनि सङ्घर्ष गरेर जीत्न नसकेपछि श्रमिकहरुको आवाज बनेर अघि आएकी एकजना नारीमाथि आक्रमण गर्नु, हाथापाई गर्नु कायरतापूर्ण र निन्दनीय कार्य हो यसको हामी घोर भर्त्सना गर्दछौं भन्दै उनले घाइते बनेकी छेत्रीको स्वास्थ्य लाभको कामना पनि गरे। उनको हिम्मत, हौसला अनि सहि कदमको प्रशंसा गर्दै चिया श्रमिकहरुले पटक पटक भोगी रहनु पर्ने समस्याहरुको स्थायी समाधान निकाल्नु पर्नेमा पनि उनले जोर दिए भने श्रमिकहरुको आवाज बनेर अघि आउँदा एउटा सत्तारुढ दलले उनीमाथी हाथापाई गर्नु भनेकै उनमा कति इमान्दारीता अनि ताकत रहेको छ भन्ने स्पष्ट हुन्छ भन्ने पनि संयोजक प्रधानले बताए। गोर्खाल्याण्डबाहेक अन्य कुनै मुद्दामा उल्झिन नचाहे पनि गोर्खाल्याण्डको सङ्घर्षमा सबभन्दा धेरै भुक्तभोगी बनेर सङ्घर्ष गर्ने चिया श्रमिकहरुमाथि अतिभन्दा अति अन्याय भईरहेको र त्यसको विरुद्धमा अराजनैतिक संगठनकै पक्षबाट आन्दोलन भईरहेकोले लङ्भ्युको यो आन्दोलनप्रति गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले अगावै एक्यवद्धता जनाई सकेको छ। आफुहरुले जस्तै लङ्भ्यु चिया कमानले पनि अराजनैतिक संगठनकै माध्यमबाटै शुरू गरेको यो सङ्घर्षको बाटोलाई अन्य चियाकमानका श्रमिकहरुले पनि पछ्याउनु पर्ने आवश्यकता रहेको गोएसले आभाष गरेको छ। अर्कोतर्फ श्रमिकहरुको आवाजलाई दबाउन खोज्नु नै अहिलेको सबभन्दा ठूलो कुचक्र रहेको भन्दै समूहकै अर्को एकजना वरिष्ठ सदस्य डीपी प्रधानले पनि छेत्रीको साहस अनि हिम्मतको सराहना गरे भने आफ्नो मनोबल अझ बढाएर श्रमिकहरुको हितमा अझ बलियो भएर उभिने सल्लाह दिए। एक्टीभिष्ट समूह यस्ता स्पष्ट अनि अराजनैतिक आन्दोलनको साथमा रहेको पनि उनले दोहोराए। जुन दार्जीलिङका चिया श्रमिकहरुले यति उच्च गुणस्तरीय विश्व प्रसिद्ध चिया उत्पादन गर्छ त्यही श्रमिकहरु भने आफ्नो दैनिक हाँजिरा र पाउनु पर्ने स-सानो सुविधाहरुको निम्ति पनि पटक पटक आन्दोलन गर्नु पर्छ यो जतिको ठूलो दुर्भाग्य अरु केई हुन सक्दैन। यसैले यसको स्थायी समाधान निकाल्नु पर्छ र त्यो काम अराजनैतिक संगठनहरुको माध्यमबाटै सम्भव छ। समूहका सदस्यहरूलाई आफ्नो गुनासो पोख्दै घाइते छेत्रीले श्रमिकहरुको आवाज बनेर अघि आउँदा यसरी आफुमाथी हाथापाई भएकोमा दु:ख लागेता पनि यो आन्दोलनलाई यतिकै नछोड्ने पनि बताइन्। श्रमिकहरुको हितको निम्ति सबैसँग गुहार माग्दा पनि कसैले पनि ठीकसँंगले काम नगरी दिँदा अनि श्रमिकहरुको अधिकारको खोजेर नल्याउँदा संविधानले दिएको मौलिख अधिकारको उपभोग एवम् सदुपयोग गर्दै श्रमिकहरु आफै अघि आउनु परेको तर आफ्नो हक र अधिकारको निम्ति आफै अघि आउँदा पनि यसरी आफुहरुमाथि आक्रमण गरिनु, हाथापाई गरिनु जस्तो घटना भएको उनले गुनासो पोखिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement