गान्तोकः सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँडभैलो पारिरहेको साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालले बताएका छन्। किनार प्रकाशन गान्तोकद्वारा शनिवार नेपाली साहित्य परिषद भवनमा आयोजित एउटा कार्यक्रममा विशिष्ट अतिथि रहेका ढकालले सिक्किम विश्वविद्यालयको नेपाली विभागद्वारा तय गरिएको नेपाली भाषाको मानदण्डमाथि कटाक्ष हाने। तलथोप्ली र पञ्चमवर्ण विरोधी लेखन शैलीलाई साहित्य अकादमीले कुनै हालतमा स्वीकार नगर्ने बताए। “तल थोप्ली बिनाका कृतिहरूलाई साहित्य अकादमीले बहिष्कार गर्नेछ। हामी लेखक, साहित्यकारहरूले लेखेको पुस्तक पढाउने उनीहरूको काम हो। भाषा बनाउने र थोप्ने काम होइन”, ढकालले भने। सिक्किम विश्वविद्यालयलाई भाषामा विचलन ल्याउने अधिकार कसले दियो भनी प्रश्न गर्दै सम्बन्धित निकायमा भाषाप्रेमीहरूले आरटीआई गरिरहेको पनि ढकालले दाबी गरे।

भाषामा विचलन ल्याउनेहरूले नै उल्टा सोसियल मिडियामा भ्रमित बयानहरू जारी गरी भाषाबारे थप अन्योलता सिर्जना गर्ने कार्य गरिरहेको उनले बताए। सिक्किमका महाविद्यालहरूसम्म तल थोप्ली प्रयोग गरेका विद्यार्थीलाई सिक्किम विश्वविद्यालयमा पुगेपछि अंक घटाउने निर्णय पनि निन्दनीय रहेको बताए। कार्यक्रमका सभाध्यक्ष साहित्यकार सीपी भट्टराईले मृत्युपछि पनि बाँच्ने हो भने साहित्य लेख्नुपर्छ भन्ने मन्तव्य गरे। किनार प्रकाशनद्वारा हालै प्रकाशित बृहत शोधपरक पुस्तकबारे बोल्दै उक्त पुस्तक प्रत्यक्ष रूपमा अध्ययन गर्न नपाए पनि पुस्तकबारे गरिएको मन्तव्यले नेपाली जातिको निम्ति यो पुस्तक महत्त्वपूर्ण रहेको जनाए। १८ वर्ष खर्च गरेर टीबी चन्द्र सुब्बाले जातिमाथि गरेको कार्य सराहनीय रहेको उनले बताए। यस अवसरमा किनार प्रकाशनद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञतास्वरुप प्रदान गरिने ताम्रपत्र भट्टराईलाई हस्तान्तरण गरियो। कार्यक्रममा किनार प्रकाशनका सहयोगी साहित्यकारहरूलाई पनि अभिनन्दन गरियो। कार्यक्रममा आफ्नो कृतिको प्रकाशन एवं लोकार्पणसम्म सहयोग गर्ने सबैप्रति लेखक टीबीचन्द्र सुब्बाले आभार व्यक्त गरे।









