भद्रपुर: इटहरीमा चक्कु देखाएर लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। गत मंगलबार इटहरी ३ तालतलैयास्थित बाटो छेकेर चक्कु देखाएर लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीकाअनुसार बाटो छेकेर चक्कु देखाएर दुई लाख लुटपाट गर्नेहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा इटहरी ४ बस्ने २४ वर्षीय विशाल तामाङ, इटहरी १६ बस्ने १८ वर्षीय रिचन खत्री, रामधुनी ३ का २२ वर्षीय अनिश कोइराला, सो स्थानका १९ वर्षीय सुशन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत र रामधुनी ७ बस्ने १८ वर्षीय साकार भण्डारी रहेका छन्।
उनीहरूलाई प्रहरी इन्स्पेक्टर हेमन्त राईको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। साथमा रहेको चक्कु देखाएर स्थानीय अमन भगतलगायतका मानिसलाई नगद दुई लाख रुपैयाँ लुटपाट गरेको डीएसपी कार्कीले बताए।
‘प्रहरीमा निवेदन आएपछि हामीले इटहरी ४ स्थित टेङ्ग्रा खोलाबाट पक्राउ गरेका हौँ,’ कार्कीले भने, ‘चोरी तथा डाका गरेको नगद तथा चक्कुसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।’
पक्राउ परेकाहरूको साथबाट विभिन्न दरका नेपाली नगद ३० हजार दुई सय ५५ रुपैयाँ, चक्कु एक थान, मोटरवाला ओकेटोके हेण्ड सेट दुई थान, ६ थान मोबाइल बरामद गरिएको छ। पक्राउ परेका सातैजनामाथि शुक्रबार जिल्ला अदालत सुनसरीबाट चोरी तथा डाका मुद्दामा म्याद थप गर्ने प्रहरीको तयारी छ। उनीहरूमाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ।









