गान्तोक: नेपाली नारीहरूको महत्त्वपूर्ण पर्व पवित्र तीज आज लुइङ थामीडाँडा पाण्डेगाउँमा धार्मिक विधिविधान अनि लोक सांस्कृतिक उत्साहका साथ पालन गरियो। पारम्परिक रूपमा दिनभरि निर्जला व्रत बसी शिवोपासना गरे।
दिदीबहिनी-साथी-सङ्गीसँग सङ्गिनी, तीजे नृत्य उल्लासका साथ नाचे। घाम अस्ताएपछि आफ्ना पतिले सिधेनुन हाली पकाएका परिकार खाई आफ्नो व्रत फुकाए।
यस उत्सवमा ८५ वर्षीय मनमाया भट्टराई मुख्य अतिथि रहेकी थिइन्। थामीडाँडा वार्डका पूर्व पञ्चायत तथा लुइङ-पर्बिङ ग्राम पञ्चायत एकाइका पूर्व सभापति दाताराम पाण्डे, हरिनारायण पाण्डे, चेतनाथ पाण्डे, बासुदेव भट्टराई, पुष्पकला पाण्डे उत्सवका विशिष्ट अतिथि रहेका थिए। माइतीघरमा भेला भई हर्षोल्लास गर्न पाकिम, तिन्तेक, रिनाक, रङ्ली, गान्तोकबाट चेलीहरूको बाक्लो उपस्थिति रहेको थियो।
संस्कृति संरक्षणका साथै गाउँमा पारम्परिक उत्सव पुनर्जीवित गर्ने उद्देश्य राखेर यो आयोजन गरिएको हो। यस कार्यक्रमलाई सफल पार्न तादोङ कलेजका प्रशासनिक प्रभागका प्रवीण शर्मा, नेपाली विभागका डा टेकबहादुर छेत्री, बोजोघारी वरिष्ठ माध्यमिक विद्यालयका अनुज पाण्डे, सिक्किम पुलिसमा कार्यरत मेघनाद पाण्डेको विशेष सहयोग र सक्रिय सहभागिता रहेको थियो।











