गान्तोक: आगामी ८ सेप्टेम्बरको दिन पालन गरिने सामूहिक राज्यस्तरीय तीज उत्सवलाई लिएर आज सरमसा गार्डनमा अन्तिम तयारी बैठक आयोजन गरियो। एसकेएम पार्टीका महासचिव एवं मन्त्री अरुण कुमार उप्रेतीको अध्यक्षतामा सम्पन्न बैठकमा विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मन्त्री राजु बस्नेत, विधायक पमिन लेप्चा, एसकेएम युवा नेता लाक्पा मोक्तान, मुख्यमन्त्रीका पूर्व प्रेस सचिव बिकास बस्नेत आदि उपस्थित थिए।
मन्त्री उप्रेतीले कार्यक्रमको सफलता सुनिश्चित गर्न प्रभावकारी समन्वयको महत्वमाथि प्रकाश पारे। उनले सबै स्वयंसेवकहरूलाई आफ्नो जिम्मेवारी समर्पणका साथ पूरा गर्न आह्वान गरे।
बैठकलाई सम्बोधन गर्दै विधानसभा उपाध्यक्ष थापाले आफ्नो सम्बोधनमा राज्यस्तरीय नृत्य प्रतियोगिता, स्वागत समिति, खाद्य कमिटी, मञ्च व्यवस्थापन, स्वयंसेवकहरूको जिम्मेवारी आदि विषय विस्तृत जानकारी दिइन्। बैठकलाई मन्त्री राजु बस्नेत, बिकास बस्नेत, छुङछुङ भोटियाले पनि सम्बोधन गरेका थिए।
एसकेएमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, कार्यक्रममा मुख्यमन्त्री पीएस तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। कार्यक्रममा प्रसिद्ध नेपाली गायिका तृष्णा गुरूङले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। आयोजक समितिले सामूहिक राज्यस्तरीय तीज उत्सव सफल बन्ने आशा व्यक्त गरेको छ।











